
काठमाण्डू, ३१ चैत– पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ०८१ साल राजनीतिक घटनाक्रमको हिसाबले औसत भएको बताएका छन । साथै ०८२ सालमा राम्रो काम गर्नका २०८१ सालले आधार भने दिएको उनको बुझाइ छ । आज (आइतबार) गृहजिल्ला चितवनमा पत्रकारहरुसँगको कुराकानीमा माओवादी अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन ।
उनले २०८१ सालको समीक्षा सुनाउँदै भने, ‘२०८१ सालमा सकारात्मक काम पनि भयो, नकारात्मक पनि भयो । समग्रमा भन्दा त्यस्तो उत्साहवर्द्धक भन्ने पनि भएन, धेरै निराशाजनक भन्ने पनि होइन ।’ अब नयाँ वर्षमा २०८२ सालमा जनता र राष्ट्रको आवश्यकता अनुसार अगाडि बढ्ने संकल्प गर्नुपर्ने उनले बताएका छन ।
उनले भने, ‘२०८१ ले २०८२ का लागि आधार भने दिएको छ, राम्रो काम गर्नका लागि, ‘राजनीतिक दलहरुलाई आत्मसमीक्षा गर्नका लागि, आत्मालोचना गर्नका लागि र, जनता र राष्ट्रको आवश्यकता अनुसार अगाडि बढ्ने संकल्प गर्नको लागि पुरानो वर्षले आधार दिएको छ, नयाँ वर्षमा संकल्प गर्नु नै छ ।’
उनले सबै चितवनबासी, देशभरका नेपाली र विदेशमा बसोबास गर्ने नेपालीहरुलाई नयाँ वर्षको शुभकामना समेत दिएका छन ।पत्रकारहरुको प्रश्नको जवाफ दिने क्रममा उनले नयाँ वर्षमा नयाँ सरकार बन्ने परिस्थिति बन्दै गएको जिकिर गरे ।
शिक्षक, डाक्टर, नर्स र राजनीतिक दलहरु समेत वर्तमान सरकारविरुद्ध सडक आन्दोलनमा उत्रिएको भन्दै प्रचण्डले परिस्थिति निकै गम्भिर र पेचिलो बनेको विश्लेषण बताए ।