
काठमाण्डू, १ वैशाख– हुम्लाको चंखेली गाउँपालिका–२ लोती भन्ने स्थानमा स्काभेटर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चंखेली गाउँपालिका–२ का ४५ वर्षीय परबल कामी र ३१ वर्षीय अर्जुन कामी रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख एवम् डिएसपी शंकर पोखरेलले जानकारी दिएका छन ।
स्काभेटर मुगु छायाँनाथ नगरपालिका–१४ का नन्दलाल बडुवालको रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । गएराति भएको दुर्घटनामा स्काभेटर चालकको अवस्था भने सामान्य रहेको पनि प्रहरीले जानकारी दिएको छ ।
अनुसन्धानका लागि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्काभेटर सडकबाट करिब १ सय मिटर तल खसेको छ । घटनास्थल मिमी प्रहरी चौकीभन्दा करिब १ घण्टा र मेल्छाम प्रहरी चौकीभन्दा करिब ३० मिनेटको दुरीमा पर्ने प्रहरीले जानकारी दिएको छ ।