राजतन्त्र भूत भइसक्यो, भविष्य होइनः गोकुल बास्कोटा

काठमाण्डु टुडे २०८२ वैशाख १ गते १२:२६ मा प्रकाशित

काठमाण्डू, १ वैशाख– पूर्व मन्त्री एवं एमाले सांसद गोकुल प्रसाद बास्कोटाले नेपालमा राजतन्त्रको भविष्य समाप्त भइसकेको बताएका छन । राजतन्त्र भूत भइसकेको बताउँदै उनले १८ वर्षअघि नै राजतन्त्रको भविष्य सकिएको बताएका छन ।

एमाले सांसद बास्कोटाले भने, ‘नेपालमा राजतन्त्र भूत भइसक्यो, भविष्य होइन ।’ आज (सोमबार) काभ्रेमा प्रेस चौतारी नेपालले आयोजना गरेको नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्ने गर्दै एमाले सांसद बास्कोटाले यस्तो बताएका हुन । उनले राजतन्त्र अब इतिहासको पाना पछाडि नफर्कने बताए ।

नेपाल लोकतन्त्रको राजमार्गमा आफ्ना कमजोरी र त्यसका बलिया कुराहरूलाई थप व्यवस्थित, परिमार्जित र दृढ निश्चयका साथ नेपाली समाजलाई अगाडि बढाउन दृढता पूर्वक लागिरहेको बास्कोटाको भनाइ थियो ।

नेपाली प्रेसले पनि लोकतन्त्रमा मात्रै पत्रकारिताको जीवनको स्वतन्त्रता, सार्थकता र उसको भविष्यको सुनिश्चितता हुन्छ भन्ने कुरा गम्भीरतापूर्वक आत्मसाथ गरेको छ भन्नेमा आफू विश्वस्त रहेको उनले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us