प्रतिगामीविरुद्ध लोकतान्त्रिक शक्तिबीच एकताको खाँचो छः माधव नेपाल

काठमाण्डु टुडे २०८२ वैशाख १ गते १४:३९ मा प्रकाशित

काठमाण्डू, १ वैशाख– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले परिवर्तन पक्षधर लोकतान्त्रिक शक्तिहरूबीच एकताको लागि आग्रह गरेका छन ।

आज (सोमबार) नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना दिँदै नेपालले परिवर्तनका पक्षधर शक्तिहरूबीच एकताको अपिल गरेका हुन् । उनले संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध प्रतिगामी शक्ति सक्रिय रहेकाले परिवर्तनका पक्षधर तथा लोकतान्त्रिक शक्तिबीच एकता आवश्यक रहेको बताएका छन ।

शुभकामना सन्देशमा उनले जनताको लामो संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गरी सुशासन, समृद्धि र सामाजिक न्यायमा आधारित आर्थिक रूपान्तरणमा मुलुकलाई अघि बढाउनु पर्ने पनि बताएका छन ।

पूर्वप्रधानमन्त्री नेपालले शान्ति, एकता, सद्भाव र सहिष्णुता कायम गर्दै अध्यक्ष नेपालले नयाँ वर्षले समुन्नत समाजवादी मुलुक निर्माणमा एकताबद्ध हुन प्रेरणा प्रदान गर्ने विश्वाससमेत व्यक्त गरेका छन ।

राष्ट्रियता, जनजीविका, वैज्ञानिक समाजवादका विषयमा साझा दृष्टिकोण बनाउन राजनीतिक शक्तिहरूलाई आग्रह गर्दै उनले उत्पादन वृद्धि गरी रोजगारका अवसर सिर्जना गरी सामाजिक रूपान्तरण गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us