पूर्वराजाको सन्देशप्रति एमालेको प्रश्नः लुटपाट र विध्वंस मच्चाउनु जनतामा आएको जागरण हो ?

काठमाण्डु टुडे २०८२ वैशाख १ गते १५:२७ मा प्रकाशित

काठमाण्डू, १ वैशाख– सत्ता घटक दल एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्लो शुभकामना सन्देशप्रति आपत्ति व्यक्त गरेको छ । पूर्वराजाको मनमा राजतन्त्र फर्काउन सकिन्छ कि भन्ने आशा अझै जीवितै रहेको निष्कर्षसमेत एमालेले निकालेको छ ।

आज (सोमबार) एमाले मुख्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालयको ४८ औं बैठकले सो निष्कर्ष निकालेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले यस्तो बताएका हुन । बैठकपछि पत्रकारसँग बोल्दै पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले चैत १५ गतेको आपराधिक घटनालाई ‘जनतामा आएको जागरणको रुपमा व्यक्त गर्न खोजिएको भन्दै’, आपत्ति जनाए ।

उनले भने, ‘हिजो मात्रै सन्देश बाहिर आएको छ, त्यो अभिव्यक्ति हेर्दा उहाँको मनमा राजतन्त्र फर्काउन सकिन्छ कि, अहिलेका उपलब्धीहरुलाई पछाडि फर्काउन सकिन्छ कि भन्ने आशा र सक्रियता जीवितै रहेको पायौं । त्यो गलत कुरा हो । चैत १५ गते अपराधिक घटनालाई जनतामा आएको जागरणको रुपमा व्यक्त गर्नुभयो । सर्वसाधारणको घरमा लुटपाट, तोडफोड र विध्वंस नै उहाँले खोजेको जागरण हो भने त्यो धेरै आपत्तिजनक हो ।’

बैठकले यस्ता खालका क्रियाकलाप नगर्न भनेको ज्ञवालीले जानकारी दिएका छन । लोकतान्त्रिक गणतन्त्रको कोर्स उल्टाउने प्रयास कहीँबाट पनि नहोस भनेर बैठकले ध्यानाकर्षण गरेको पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us