भेटेर संवाद गर्ने दाहालको प्रस्तावमा देउवाले भनेः तपाईंसँग हुँदा ओलीसँग भेटिनँ, अहिले ओलीसँग छु, तपाईंसँग भेट्दिनँ

काठमाण्डु टुडे २०८२ वैशाख १ गते १६:०४ मा प्रकाशित

काठमाण्डू, १ वैशाख– प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नयाँ वर्षमा नयाँ सरकार बन्ने अभिव्यक्ति दिए। दाहालको उक्त अभिव्यक्तिले अहिले राष्ट्रिय राजनीतिमा एक खाले हलचल मचाईरहेको छ । तर, त्यो हल्ला मात्रै भएको कांग्रेस नेताहरू बताउँछन् ।

सभापति शेरबहादुर देउवा निकट एक नेताले नागरिकसँग भने, ‘प्रचण्डजीले जे–जे भन्नुभयो, ती हल्ला मात्रै हुन्। उहाँको कुरा भनेको चाहिँ ओलीजी प्रधानमन्त्री हुँदा अशान्त जस्तो भयो, त्यसैले कांग्रेसको नेतृत्वमा सरकार बनाउँ भन्ने हो। त्यो हामीले बुझेका छौँ। तर, हामी स्थायित्वको पक्षमा छौँ। त्यसैले असार १७ को समझदारीमा उहाँ (शेरबहादुर देउवा) अडिग हुनुहुन्छ ।’

ती नेताका अनुसार दाहालले देउवासँग भेटेर संवाद गर्ने प्रस्ताव पठाएका थिए। तर, देउवाले भने त्यसलाई अस्वीकार गरेको ती नेताले जानकारी दिए । ती नेताका अनुसार अहिले आफू केपी शर्मा ओलीसँग रहेको भन्दै देउवाले दाहालको भेटेर कुरा गर्ने प्रस्ताव अस्वीकार गरेका हुन्।देउवालाई उद्धृत गर्दै ती नेताले भने, ‘पहिले तपाईंसँग थिएँ, ओलीसँग भेटिनँ ।

अहिले ओलीसँग छु, तपाईंसँग भेट्दिनँ। भेटिँदा त्यसले तपाईंलाई पनि र मलाई पनि राम्रो गर्दैन। हामी स्थायित्वको पक्षमा छौँ । तपाईं हामी मिलेर सरकार बनाएको खण्डमा त्यसले स्थायित्व पाउँदैन ।’ ती नेताका अनुसार खासगरी दोस्रो तहका माओवादी नेताहरूले विभिन्न तवरबाट सरकार गठन गर्ने प्रस्ताव लिएर आउने गरेका छन् ।

यसअघि पत्रकार जगदिश खरेलसँगको अन्तर्वार्ता क्रममा माओवादी अध्यक्ष दाहालले सरकार जुनसुकै बेला परिवर्तन हुनसक्ने बताएका थिए। त्यसको भोलिपल्ट गृहजिल्ला चितवन झरेका उनले नयाँ वर्षमा नयाँ सरकार बन्ने अभिव्यक्ति दिएका थिए। आफूलाई प्राप्त विभिन्न सूचनाका आधारमा आफू बोलेको उल्लेख गर्दै उनले भनेका थिए, यो सरकार धेरै उता जान सहज छैन।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us