
एजेन्सी– पप गायिका, पत्रकार, वैज्ञानिक, वकिल र फिल्म निर्माताहरूको समूहले इतिहास रच्दै ११ मिनेटको अन्तरिक्ष यात्रा पूरा गरेका छन् ।
नेपाली नयाँ वर्षको दिन सोमबार अमेरिकी अरबपति जेफ बेजोसको कम्पनी ब्लु ओरिजिन ले पप स्टार केटी पेरी, पत्रकार गेल किङ, नागरिक अधिकारकर्मी तथा वकिल अमान्डा इन्गुएन, पूर्व नासा रकेट वैज्ञानिक आइशा बोवे, फिल्म निर्माता क्यारियन फ्लिन, र ब्लु ओरिजिनकी उपाध्यक्ष तथा सञ्चारकर्मी लरेन सान्चेजलाई अन्तरिक्ष यात्रा गराएको हो ।
बीबीसीका अनुसार, अन्तरिक्षमा पुगेपछि केटी पेरीले त्यहाँ गीतसमेत गाएकी थिइन्, जसले वातावरण झनै अविस्मरणीय बनाएको थियो ।
महिलाहरूको समूहले अन्तरिक्ष यात्रा गरेको यो पहिलोपटक हो ।
यसअघि सन् १९६३ मा रुसी अन्तरिक्ष यात्री भेलेन्टिना टेरेश्कोभाले एकल अन्तरिक्ष यात्रा गरेकी थिइन् ।
ब्लु ओरिजिनको न्यु शेपर्ड–३१ नामक पूर्ण स्वचालित रकेटमार्फत उनीहरूलाई अन्तरिक्षमा पठाइएको थियो । अमेरिकाको टेक्सासस्थित कम्पनीको प्रक्षेपण केन्द्रबाट उडान गरिएको यो यानको अधिकतम गति प्रति घण्टा दुई हजार ३ सय माइल थियो । जुन ध्वनिको गति भन्दा करिब तीन गुणा बढी हो ।
रकेटले पृथ्वीको वायुमण्डल समाप्त हुने बिन्दु कार्मन रेखा पार गरेको थियो । यो पृथ्वीको सतहदेखि १०० किलोमिटर माथि रहेको अन्तरिक्षको औपचारिक सुरुवात मानिन्छ ।
११ मिनेटको यात्रामा उनीहरूले करिब ७ मिनेटसम्म रकेटमा यात्रा गरे र केही मिनेट ‘गुरुत्वाकर्षणरहित’ वातावरणको अनुभवसमेत गरे । यस अवधिमा उनीहरूले अन्तरिक्षबाट पृथ्वीको मनमोहक दृश्यको मजा लिएका थिए ।
ब्लु ओरिजिनका अनुसार, यस मिसनको उद्देश्य अन्तरिक्ष पर्यटन प्रवर्द्धन गर्नु र महिलाको सहभागिता तथा सशक्तिकरणमा प्रेरणा दिनु हो ।
कम्पनीले आगामी दिनमा यस्ता प्रयासहरू निरन्तर जारी राख्ने जनाएको छ ।