सुजन बाग श्रेष्ठले तेश्रो पटक छेडाए जिब्रो

काठमाण्डु टुडे २०८२ वैशाख २ गते १६:२० मा प्रकाशित

काठमाण्डू, २ वैशाख– भक्तपुरको मध्यपुरथिमि नगरपालिकास्थीत बोडेमा जिब्रो छेड्ने जात्रा आज (मंगलबार) मनाइएको छ । भक्तपुरको मध्यपुरथिमिस्थित बोडेको जात्रामा यसवर्ष २८ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेडाएका छन् ।

बिस्काः जात्राको अवसरमा मध्यपुरथिमिको बोडेमा आयोजना हुने मौलिक शैलीको जात्रामा उनले मंगलबार आफ्नो जिब्रो छेडाएका हुन् । जात्रामा जिब्रो छेड्ने स्थानीय श्रेष्ठ थरको पुरुष हुनुपर्ने परम्परा छ ।

यही परम्पराअनुसार यसवर्ष तेस्रो पटक सुजनले जिब्रो छेडेर जात्रालाई निरन्तरता दिएका हुन् । सुजन नौ पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदैआएका स्थानीय बुद्धकृष्ण बाग श्रेष्ठका कान्छा छोरा हुन् ।

बुद्धकृष्णले पहिलोपटक २०६२ सालमा जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका थिए । त्यसपछि उनले २०६५ सालसम्म लगातार चार पटक जिब्रो छेडाएका थिए । विसं २०६६ मा बुद्धकृष्णले जिब्रो नछेड्ने बताएपछि जात्रालाई निरन्तरता दिन जुजुभाइ बास श्रेष्ठले जिब्रो छेडाए । जुजुभाइले २०६५ देखि २०७२ सालसम्म आठ पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिए ।

विसं २०७३ मा जुजुभाइका श्रीमती र भाउजु दुवै बिरामी भएकाले जिब्रो नछेड्ने घोषणा गरे । त्यसयता पुनः बुद्धकृष्णले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदै आएका थिए ।

नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि तेलमा डुबाइराखेको १० इन्च लामो सुइरोले पाँचो गणेशको प्राङ्गणमा रहेको पाटीस्थित मञ्चमा श्रेष्ठको जिब्रो छेडिएको हो । चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिंगो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार व्रत बसेर जिब्रो छेडाउने चलन छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us