
काठमाण्डू, २ वैशाख– गत १५ चैतमा काठमाण्डूको तीनकुने क्षेत्रमा भएको राजावादी समुहको प्रदर्शनमा भएको हिंसात्मक घटनामा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री एवं सांसद डा. धवल शमशेर राणाको बयान सुरु भएको छ । उनीहरु दुवै जनालाई सरकारी वकिल कार्यालयमा उपस्थित गराएर बयान लिने काम सुरु गरिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाण्डू स्रोतका अनुसार सरकारी वकिलको कार्यालयमा उपस्थित गराएर उनीहरूको बयान लिने काम जारी रहेको छ । बयानका लागि आज मंगलबार पनि दुवै जनालाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको थियो । पक्राउ परेका यी दुवै नेताहरू विरुद्ध राज्यविरुद्धको कसुर अन्तर्गत राजद्रोह र संगठित अपराधको कसुरमा म्याद लिएर अनुसन्धान गरिएको छ ।
यीनै दुई घटनाका विषयमा उनीहरूमाथि बयान लिने काम सुरु भएको स्रोतले जानकारी दिएको छ । मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद १ मा राज्यविरुद्धको कसुरसम्बन्धी व्यवस्था छ । राज्यविरुद्धको कसुर अन्तर्गतको राजद्रोहको कसुरमा उनीहरूमाथि अनुसन्धान भइरहेको छ ।
संहिताको दफा ५० राजद्रोहको कसुरबारे उल्लेख छ । जसमा ‘नेपाल सरकार वा संवैधानिक संरचनालाई पल्टाउने नियतले कसैले सैनिक, अर्धसैनिक वा आपराधिक बलको प्रदर्शन वा प्रयोग गरी कुनै अव्यवस्था उत्पन्न गर्न वा हतियारसहित सैनिक वा अर्धसैनिक संगठन निर्माण गर्न वा त्यस्तो षडयन्त्र वा उद्योग गर्न वा गराउन वा दुरुत्साहन गर्न हुँदैन,’ उल्लेख गरिएको छ ।
यदि कसैले यस्तो कसुर गरेमा भने २५ वर्षसम्म कैद सजाय हुने व्यवस्था संहितामा उल्लेख छ । अब राजद्रोहको कसुरमा म्याद लिएपछि प्रहरीले उनीमाथि यसका प्रमाणहरू जुटाउनुपर्ने हुन्छ । यसका लागि काम भइरहेको प्रहरीको भनाइ छ । योसँगै अहिले उनीहरुविरुद्ध संगठित अपराधको कसुर पनि लगाइएको छ ।
संगठित रूपमा तोडफोड, हिंसा र आगजनी गरेको भन्दै संगठित अपराधमा समेत अनुसन्धान गर्न अनुमति लिएको हो । तीन जनाभन्दा बढीको समूह बनाएर तीन वर्षभन्दा बढी कैद सजाय हुने अपराध गरेमा संगठित अपराध हुने कानुनी व्यवस्था छ ।