सिराहामा यौन दुर्व्यवहारपछि युवतीको मृत्यु भएको घटना छानबिन गर्न गृहमन्त्रीको निर्देशन

काठमाण्डु टुडे २०८२ वैशाख ३ गते १२:४४ मा प्रकाशित

काठमाण्डू, ३ वैशाख– सिराहामा चार महिनाअघि यौन दुर्व्यवहारमा परेर मंगलबार ज्यान गुमाएकी युवतीको घटनाबारे छानबिन गर्न गृहमन्त्री रमेश लेखकले निर्देशन दिएका छन ।

चार महिनाअघि बलात्कार प्रयासबाट उम्किएकी नरहा गाउँपालिका, बर्छवाकी २५ वर्षीया आनन्दीदेवी सदाय नवराजपुर गाउँपालिका–३ दोनबारी टोलस्थित माइतिघरमा झुण्डिएको अवस्थामा भेटिएकी हुन् । गृहमन्त्री रमेश लेखकले घटनाबारे चासो राख्दै छानबिन गर्न आईजीपी दीपक थापालाई निर्देशन दिएका हुन ।

पुस ९ मा बरियारपट्टि गाउँपालिका–१ कचनारीको नरगीस्थित दिदीको घरमा गइरहेको बेला आनन्दीदेवीलाई दुई युवाले बगैँचामा लगेर बलात्कार प्रयास गरेका आरोप रहेको छ । उनले प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् ।

तर, अहिलेसम्म आरोपी पक्राउ परेका छैनन् । इलाका प्रहरी कार्यालय महेशपुर पतारले पीडितले दिएको जाहेरी ढिला दर्ता गरेको पाइएको छ ।

पुस १० मा मेडिकल गरेपनि जाहेरी दर्ता ढिला गरेको भेटिएको जिल्ला प्रहरी कार्यालय सिरहाका एकजना अधिकृतले जानकारी दिएका छन । करणी उद्योगमा संलग्न दुईजना फरार छन् । उनीहरु भारत भागेको आशंका गरिएको प्रहरीले जानएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us