अध्यक्षले बचत अपचलन गरेपछि बुटवलको सनराइज सहकारी बन्द

काठमाण्डु टुडे २०८२ वैशाख ३ गते १६:३१ मा प्रकाशित

काठमाण्डू, ३ वैशाख– बुटवलमा रहेको सनराइज बहुउद्देश्यीय सहकारी संस्था बन्द भएको छ । अध्यक्षले सेयर सदस्यको बचत अपचलन गरेपछि सनराइज बहुउद्देश्यीय सहकारी संस्था बन्द भएको हो ।

बुटवल–११ देवीनगरमा रहेको सहकारीका अध्यक्ष आकाश भट्टराईले संस्थामा जम्मा भएको रकम अपचलन गरी सम्पर्कविहीन भएपछि अन्य पदाधिकारी र कर्मचारीले संस्था नै बन्द गरेका हुन ।

संस्थाले निकालेको सूचनामा अध्यक्ष सम्पर्कमा नआउँदासम्म कर्मचारीबाट कार्यालय सञ्चालन गर्न असहज परिस्थिति बनेको भन्दै सम्बन्धित निकायबाट अध्यक्षलाई खोजेर उपस्थित गराइएपछि बचतकर्ताको रकम फिर्ता प्रक्रिया अघि बढाइने बताइएको छ । सहकारीमा कति सेयर सदस्य छन्, सदस्यको कति रकम बचत छ र अध्यक्षले कति रकम अपचलन गरेका हुन् भन्ने सूचनामा उल्लेख गरीएको छैन ।

सहकारी उपाध्यक्ष रमेश भट्टराई र सचिव लक्ष्मी अधिकारीले आफूहरूलाई सहकारीको आर्थिक पक्षबारे कुनै जानकारी नै नभएको प्रतिक्रिया दिएका छन । अध्यक्ष नातेदार भएकाले आफूहरूले विश्वासमा नागरिकताको फोटोकपी दिएको बाहेक अरू केही थाहा नभएको उपाध्यक्ष भट्टराईले जानकारी दिएका छन ।

अध्यक्ष भट्टराई र कोषाध्यक्ष बसन्त भट्टराई मोबाइल फोन स्विच अफ गरी सम्र्पकविहीन भएका छन । सनराइज सहकारीमा ३१ चैत २०८१ सम्म दैनिक २ सय रुपैयाँका दरले जम्मा गर्दै आएको बुटवल–७ दीपनगरकी स्मृति पाण्डे पौडेलले बताइन् । बुटवल–११ का अध्यक्ष रामचन्द्र खनाल क्षेत्रीले सहकारी अध्यक्ष बचतकर्ताको रकम कुम्ल्याएर फरार भएको अनौपचारिक जानकारी पाएको तर आधिकारिक रूपमा कसैले ठगिएको निवेदन नदिएको बताए ।

लुम्बिनी प्रदेश सहकारी दर्ता अधिकारीको कार्यालयका रजिस्ट्रार मधुकृष्ण पौडेलले प्रदेश सरकारले नियमन गर्ने कार्यक्षेत्र भएका ८ सय ४८ सहकारी रहे पनि १ सय ३० मात्र प्रदेशमा दर्ता भएकाले समस्या आएको बताए ।

खासगरी बाहिर जिल्लामा दर्ता भई प्रदेशलाई कार्यक्षेत्र बनाएका बहुउद्देश्यीय सहकारीमा धेरै समस्या आएको स्वीकार्दै उनले प्रदेशका १२ जिल्लामा अनुगमन र नियमनका लागि कर्मचारी समेत अभाव रहेको गुनासो गरे ।

लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघ अध्यक्ष कृष्ण नेपालले जिल्लाभन्दा बाहिर दर्ता भएर प्रदेशमा आएका २३ सहकारी समस्यामा रहेको बताए । जसमध्ये १३ बहुउद्देश्यीय, ९ बचत तथा ऋण र एउटा जडीबुटी सहकारी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us