
काठमाण्डू, ३ वैशाख– प्रहरीले अनलाइन भुक्तानी प्लेटफर्म ई–सेवाबाट एक करोड रुपैयाँभन्दा बढी रकम चोरी गरेको आरोपमा एक युवक पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कन्चनपुरको कृष्णपुर नगरपालिका–१ घर भइ हाल काठमाण्डूको अनामनगर बस्ने २२ वर्षीय राहुल बुढा रहेका छन । उनलाई काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कालिमाटीबाट मंगलबार पक्राउ गरेको हो ।
उनले विभिन्न फिसिङ लिंकहरू पठाएर ४ हजार व्यक्तिको ई–सेवा अकाउन्टबाट १ करोड २ लाख रुपैयाँ चोरी गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता अंगुर जिसीले जानकारी दिएका छन ।
उनले एसएमएस मार्फत द अलर्ट, एटी अलर्ट जस्ता फिसिङ लिंक पठाउने र उक्त लिंक खोलेपछि ई–सेवामा पहुँच पुर्याएर रकम चोरी गरेको पाइएको प्रहरीले जानकारी दिएको छ ।
लिंक पठाएपछि तपाईंको खाता सस्पेन्ड हुन लागेको चेतावनी दिँदै भेरिफाईको लिंक खोल्न लगाएर व्यक्तिका ई–सेवामा पुहुँच पुर्याएको आरोप छ । उक्त रकम उनले पशुपति ग्लोबल इनोभेशन प्रालिको मर्चेन्ट खाताहरुमा जम्मा गरेको पाइएको पनि प्रहरीले जानकारी दिएको छ ।