
काठमाण्डू, ३ वैशाख– कांग्रेस महामन्त्री गगन थापाले कांग्रेसमा फरक मत र आलोचना गर्न पाइने बताएका छन् । आज (बुधबार) बारा क्षेत्र नम्बर ३ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री थापाले यस्तो बताएका हुन ।
उनले आफ्नो पार्टीले गरेका कामको प्रचार आफैंले गर्नुपर्ने बताउँदै त्यो प्रयास भइरहेको पनि बताए । सरकारको पछिल्लो कार्यशैलीप्रति असन्तुष्ट सुनिँदै आएका थापाले सरकारका कामको शैली परिवर्तनको परिवर्तन अपरिहार्य रहेको बताए ।
उनले सत्ता साझेदार दल नेकपा एमाले र सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै आफ्नो पार्टीमा प्रश्न गर्न पाउने जिकिर गरे । उनले भने, ‘प्रश्न पनि गर्नुपर्छ । कांग्रेस पार्टी हो यो, यहाँ प्रश्न पाइन्छ ।
यहाँ फरक मत राख्न पाइन्छ, प्रश्न राख्न पाइन्छ, आलोचना गर्न पाइन्छ । कसैले लिएर जाँदैन, ‘कोही भीम रावल बन्दैन । किनकी यो कांग्रेस हो । यो हाम्रो पार्टी हो, बा को पार्टी होइन ।’
साथै, उनले आफ्नो पार्टीका मन्त्रीहरूले गरेको कामको प्रचार आफैंबाट हुनुपर्ने पनि बताएका छन । उनले भने, ‘हामीले गरेको कामको प्रचार हामीले गरेनौं भने फेरि अरु कसैले पनि गर्देन । हाम्रो साथीहरूले काम गर्ने प्रयासहरू गरिरहनुभएको छ ।’