मैनबत्ती निभेको निहुँमा विवाद, दाजुले गरे ११ वर्षीय बहिनीको हत्या

काठमाण्डु टुडे २०८२ वैशाख ३ गते १७:५४ मा प्रकाशित

काठमाण्डू, ३ वैशाख– ललितपुर महानगरपालिका–९, मंगलबजारस्थित खपिन्छेमा मृत भेटिएकी ११ वर्षीय दुर्गा बोहरालाई उनकै सहोदर दाजुले हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष रहेको. छ । गत २९ चैतमा खपिन्छेमा रहेको बाबुराजा अवालेको घरको भुइँ तलाको पानी ट्याङ्कीमा दुर्गाको शव भेटिएको थियो । बोहराका परिवार केही समय अघिसम्म सोही घरमा डेरामा बस्थे ।

डेरा सरेपछि छुटेको लुगा लिन जाँदा १५ वर्षका दाजुले दुर्गाको हत्या गरेको खुलेको प्रहरीले जानकारी दिएको छ । डेरामा बस्न आएको अर्को परिवारले सफा गर्दा ट्याङ्कीमा शव भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरहरि रेग्मीले जानकारी दिएका छन । अनुसन्धानमा संलग्न स्रोतका अनुसार चैत ४ गते साँझ ९ बजेर ४१ मिनेटमा दाजु–बहिनी सो घरमा आफ्नो लुगा लिन जान्छन् ।

एक जना अधिकृतले भने, ‘दाजु–बहिनी कुरा गर्दै उक्त घर (घटनास्थल)मा गएको सीसीटीभी फुटेजमा देखिन्छ ।’ घरमा अँध्यारो थियो । लुगा उठाएर मैनबत्ती बालेर दाजु–बहिनी भुइँतलातर्फ झर्दै गर्दा मैनबत्ती निभ्छ । प्रहरी स्रोतका अनुसार मैनबत्ती दाजुले बोकेका थिए । मैनबत्ती निभेपछि बहिनीले दाजुलाई ‘किन निभाएको ?’ भनेर सोध्छिन् ।

दाजुले ‘मैनबत्ती भुइँमा खस्यो’ भनेर जवाफ दिन्छन् । अनुसन्धानमा संलग्न अधिकारीका अनुसार बहिनी अगाडि र दाजु पछाडि भएर ओर्लिँदै थिए । मैनबत्ती निभाएको भनेर बहिनीले दाजुलाई हातले हिर्काउँछिन् । त्यसपछि त्यहीँ रहेको नाइलनको डोरीले घाँटी कसेर १५ वर्षीय किशोरले बहिनीको हत्या गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

पछाडिबाट बहिनीको घाँटीमा डोरी लगेर कसेको आरोपितले अनुसन्धान अधिकृतहरूसँग बताएका छन् । एसपी नरहरि अधिकारी भन्छन्, ‘कालो रङको नाइलनको डोरीले कसेर हत्या गरेको खुलेको छ ।’ घाँटीमा डोरीले कसेपछि दुर्गा ढलिन् । किशोर त्यहाँबाट कपडा बोकेर फर्किए । त्यसपछि उनी कृष्ण मन्दिरमा पुगे, जहाँ उनकी आमाले चिया बेचिरहेकी थिइन् ।

बोहरा परिवार खपिन्छेबाट नजिकै ललितपुर महानगरपालिका–१२ स्थित घरमा सरेका थिए । उनीहरूका बुवा ठमेलमा सुरक्षा गार्डको जागिर खान्छन् । राति घरमा गएर आमाछोरा सुते । बहिनी घर नफर्केपछि आमाले सोधखोज गरिन् ।

भोलिपल्ट दिनभर आरोपित डेरमै बसे । साँझ ५ बजेतिर बुवा ठमेलबाट डेरामा आए । चैत ५ मा साँझ ९ बजेतिर आरोपित किशोर डेराबाट निस्किएर साथीकहाँ गए । उनी त्यो रात साथीकोमै बसे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us