
काठमाण्डू, ४ वैशाख– सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेसले गठबन्धनभित्र रहेका दलहरूबीचमा समन्वय र सन्तुलनको आवश्यकता रहेको निष्कर्ष निकालेको छ ।
आज (बिहिबार) पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पूर्वपदाधिकारी, पदाधिकारी र मन्त्रीसहितको बैठकले यस्तो निष्कर्ष निकालेको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिएका छन ।
गठबन्धनमा रहेका दलहरूबीच तालमेल र सहकार्यको आवश्यकता रहेको निष्कर्ष निकालिएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै महतले भने, ‘सरकारको पर्फमेन्स अझै बेटर हुनुपर्छ ।
बढी गठबन्धन दलबीच समन्वय र सन्तुलन हुनुपर्यो भन्ने कुरा भयो । अझै सशक्त रुपमा डेलिभरी सरकारले दिनुपर्छ भन्ने विषयमा कुराकानी भयो ।’ गठबन्धन सरकार भन्ने बित्तिकै एउटै दलको मात्रै कुरा लागू नहुनेबारे बैठकमा छलफल भएको महतले बताए । ‘गठबन्धन सरकार भन्ने बित्तिकै एउटै दलको सबै थोक हुँदैन । समन्वयको आवश्यकता छ ।
सबैको कुरा समेट्नपर्ने आवश्यकता छ । नियुक्तिका कुरामा पनि सन्तुलनको आवश्यकता छ । डेलिभरी गर्नुपर्छ भन्ने कुरामा हामी अडिग छौं,’ महतले भने ।
बैठकमा संगठन सम्बन्धी विविध विषयमा पनि छलफल भएको उनले जानकारी गराए । ‘त्यसमा के कति प्रगति भयो, भन्नेमा अधिवेशन हुनसक्ने आधार छन् कि छैनन् भन्ने हेर्यौं,’ महतले भने ।