सैलुनलाई एसी र इन्भर्टर दिने मेयरको तोकआदेशको चौतर्फी विरोध

काठमाण्डु टुडे २०८२ वैशाख ४ गते १५:०९ मा प्रकाशित

काठमाण्डू, ४ वैशाख– हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिनाकुमारी लामाले आफैंले उद्घाटन गरेको सैलुनलाई एसी र इन्भर्टर सहयोग गर्ने तोकआदेश गरेपछि उनको चौतर्फी विरोध भएको छ । हेटौंडाका अधिवक्ता, प्राध्यापक, युवा व्यवसायीलगायतले मेयरको तोकओदशको खुलेरै विरोध जनाएका छन ।

३ वैशाखमा हेटौंडा–४, शितलमहल चोकस्थित दी नाइन्टिन सैलुनमा एसी र इन्भर्टर मागसम्बन्धी पत्र मेयर लामा समक्ष पेस भएको थियो । मागपत्रमा आर्थिक शाखालाई सम्बोधन गर्दै माग भएको सामग्रीको लागत अनुमान तयार गरिदिनका लागि निर्देश गरिएको छ । मेयर लामाको तोकपछि ३ गतेको मितिमा १८३२६ नम्बरबाट उक्त पत्र दर्ता भएको छ ।

मेयर लामाको आफन्त नाता पर्ने सैलुनका सञ्चालक सुसन घलानको अनुरोधमा उनी सैलुनको उद्घाटन गर्न गएको सोही क्रममा एसी जडानको लागि सहयोग गर्ने वचन दिएको मागपत्रमा उल्लेख गरीएको छ । ‘उद्घाटन कार्यक्रममा तपाईंले भन्नुभएको ‘सैलुनमा गर्मी धेरै छ, म एसी जडानको लागि सहयोग गर्छु’ भन्ने कुरा सम्झेर, यो औपचारिक निवेदन लिएर उपस्थित भएका छु’, पत्रमा जनाइएको छ ।

सञ्चालक घलानले गर्मी अत्यधिक भएको र सैलुनमा ग्राहकको भिड बढिरहेकाले आरामदायक सेवा दिन एक थान एसीको आवश्यकता परेको मागपत्रमा बताएका छन । साथै, हेटौंडामा लोडसेडिङ तथा अनियमित विद्युत् आपूर्तिका कारण सैलुनको सेवा अवरुद्ध हुने अवस्था आउने भएकाले इन्भर्टर (ब्याकअप पावर) को आवश्यकता रहेको घलानले जानकारी दिए ।

हेटौंडा उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत भरत गौतमले कार्यलयबाट तोकआदेशमा धेरै काम हुने र भइरहेको बताउँदै यसलाई सामान्य लिनुपर्ने धारणा राखे । उपमहानगरबाट सैलुनलाई ‘ल्याब बनाउने’ योजना भएर एसी र इन्भर्टर सहयोग गर्न खोजिएको बारे आफूले जानकारी पाएको उनको भनाइ छ ।

उपमहानगरका प्रवक्ता एवम् १ नम्बर वडा अध्यक्ष सविन न्यौपानेले काम गर्छु भनेर स्थानीय सरकारको ढोकामा आएको युवालाई सहयोग गर्न खोजिएको बताए । हाल लागत योजना तयार पार्न भनिएको र माग भएको सामग्री दिने वा नदिने निर्णय हुन बाँकी रहेको उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us