राप्रपाको चेतावनीः वैशाख २० गतेभित्र आफ्ना नेताहरू निःशर्त रिहा नगरे अन्दोलन चर्काउछै

काठमाण्डु टुडे २०८२ वैशाख ४ गते १६:१० मा प्रकाशित

काठमाण्डू, ४ वैशाख– पूर्व मन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वैशाख ७ गते पार्टीले निषेधित क्षेत्रमा गएर प्रदर्शन गर्ने घोषणा गरेका छन । आज (बिहीबार) बसेको राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन ।

उनले पार्टीले निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेको जानकारी दिएका हुन् । राप्रपा अध्यक्ष लिङ्देनले भने, ‘सरकारले नागरिक अधिकारलाई संकुचित बनाउँदै लगेको छ, त्यसको विरुद्ध हामी निषेधित क्षेत्रमै गएर प्रदर्शन गर्ने निर्णय गरेका छौं ।’ ७ गतेको कार्यक्रम सभाभन्दा प्रदर्शनको रूपमा अगाडि बढाउने अध्यक्ष लिङ्देनले बताएका छन ।

पार्टीको विशेष समितिको बैठक बसेर थप कार्यक्रमहरू सार्वजनिक गर्ने उनले बताए । राप्रपाले वैशाख २० गतेभित्र आफ्ना नेताहरू निःशर्त रिहा नगरे अन्दोलन चर्काउने चेतावनी समेत दिएको छ । बैठकले आन्दोलन र संगठनलाई सँगसँगै लैजाने निर्णय गरेको छ । बैठकले वैशाख ९ गते सबै जिल्लामा धर्ना, सभा र विरोध कार्यक्रम आयोजना गर्ने निर्णय भएको छ ।

पार्टीका नेताद्वय रवीन्द्र मिश्र र धवलशमशेर राणा लगायत चैत १५ को प्रदर्शनमा सहभागी बन्दीलाई रिहाई गर्न माग गर्दै आन्दोलनलाई सशक्त बनाउँदै लैजाने र कानुनी एवं राजनीतिक लडाइँलाई निरन्तरता दिने पनि कार्यसम्पादन समितिको बैठकले निर्णय गरेको राप्रपाले जानकारी दिएको छ ।

आन्दोलनलाई थप व्यवस्थित र सशक्त बनाउन आन्दोलन विशेष समिति बनाउने र आन्दोलन एवं संगठनका अभियान चलाएर सबै नेतालाई गाउँगाउँ र वडातहसम्म पुर्‍याउने निर्णय गरेको बैठकपछि अध्यक्ष राजेन्द्र अध्यक्ष लिङ्देनले जानकारी दिए ।

उनले भने, ‘हामीले त ७ गते नै निषेधित क्षेत्रमा गएर प्रदर्शन गर्ने र राजेन्द्र लिङ्देन नै पक्राउ दिने निर्णय गरिसक्यौं, अरूले के गर्छन् भन्ने थाहा भएन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us