मध्यावधि चुनाव माग्न प्रचण्डलाई प्रदीप ज्ञवालीको सुझाव

काठमाण्डु टुडे २०८२ वैशाख ४ गते १६:२७ मा प्रकाशित

काठमाण्डू, ४ वैशाख– पूर्व मन्त्री एवं एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मध्यावधि निर्वाचन माग्न पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सुझाव दिएका छन । एकातिर प्रचण्डले दिनहुँ सरकार परिवर्तन हुने हल्ला गरिरहेको र अर्कोतिर, माओवादी केन्द्र जनतामा लोकप्रिय बन्दै गएको दावी पनि गर्ने गरेको भन्दै ज्ञवालीले माओवादी लोकप्रिय भन्ने विश्वास भए मध्यावधि चुनाव माग्न सुझाव दिएका हुन ।

एमाले उपमहासचि ज्ञवालीले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै भनेका छन, ‘कामरेड ‘प्रचण्ड’को सत्ता अधीरता अचम्म लाग्दो छ । एकातिर कार्यकर्ताका बिचमा हाम्रो पक्षमा ०६४ जस्तो लहर आइरहेको छ– २०८४ मा देखाइदिन्छौं, अहिले त हामीलाई सरकारतिर हेर्ने फुर्सद पनि छैन ।

अर्कातिर हप्तैपिच्छे, महिनैपिच्छे सरकार आज ढल्यो, भोलि ढल्यो भन्ने भविष्यवाणी पनि गर्न छाड्नु हुन्न । भर्खरै त्यस्तै भविष्यवाणीको संभवतः सातौं संस्करण सार्वजनिक भएको छ ।’ कुनै पनि एक दलले बहुमत प्राप्त गर्न नसकेको संसद्मा बहुमत संख्या जुटाउन सक्नेले सरकार बनाउने ज्ञवालीले प्रचण्डलाई एमाले उपमहासचिव ज्ञवालीले यस्तो स्मरण गराएका हुन ।

‘हङ पार्लियामेन्टभित्र संख्या जुटाउनेले सरकार बनाउँछन् । निःसन्देह, आफूले बनाउने समीकरणबाट सम्बन्धित पार्टीहरूले आफ्ना लक्ष्य र उद्देश्यहरू हासिल गर्ने अधिकतम कोसिस गर्छन्,’ ज्ञवालीले अगाडि लेखेका छन्, ‘यति चाहिँ भनी हालूँ– आफ्नो पार्टी बलियो छ, लोकप्रिय छ भन्ने विश्वास भएकाहरूले ‘अर्लि चुनाव’ माग्छन्, कतिबेला सरकार ढल्ला र कुँदिहालौंला भन्दैनन् ।’

प्रचण्डको सत्ता अधीरता अचम्म लाग्दो हुने गरेको उल्लेख गरेका ज्ञवालीले खाना खाएपछि पानी खाने ठाउँ बाँकी राख्नु है नानी हो भनेर बुढापाकाहरूले भन्ने गरेको आहान सम्झन प्रचण्डलाई सुझाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us