
काठमाण्डू, ५ वैशाख– मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालको बोर्ड तोडमोडको आरोपमा पकाउ परेका ६ जनालाई रिहाइ गर्ने फैसला भएको छ । पक्राउ परेका ६ जनालाई रिहा गर्ने फैसला भएको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जानकारी दिएकी छन । उनीहरूको स्वास्थ्य परीक्षणपछि रिहा हुने भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले बिहीवार जिल्ला प्रशासन कार्यालयबाट अभद्र व्यवहारको मुद्दामा ५ दिनको म्याद थप गरेको थियो । पक्राउ पर्नेमा सुनिल गिरी, सफल अधिकारी, विशालराज महत, अस्मित अधिकारी, समुन्द्र दाहाल र राजकुमार घिमिरे थिए । उनीहरू नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीसँग आवद्ध युवा नेताहरू रहेको बताइएको छ ।
उनीहरूको रिहाइको लागि हेटौंडा–२ स्थित जिल्ला प्रशासन कार्यालय मकवानपुर प्रवेश गर्ने खण्डमा आज शुक्रबार बिहान नाराबाजी भएको थियो । नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी सम्बद्ध नेता तथा कार्यकर्ताले नाराबाजी गरेका थिए ।
हेटौंडा अस्पतालको नाम हटाएर राजनीतिक पार्टीका नेताको नाम राखिएको भन्दै असन्तुष्ट युवाले ३० चैतमा प्रतिष्ठानको बोर्ड तोडमोड गरेका थिए । अस्पतालको छतमा चढेर उनीहरूले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाम स्प्रे प्रयोग गरेर मेटाउनुका साथै हेटौंडा अस्पतालको फ्लेक्स ब्यानर टाँगेका थिए ।
घटनापछि प्रतिष्ठानले प्रहरीमा निवेदन दिएपछि प्रहरीले उनीहरूको खोजी गरेको थियो । बिहीबार छलफलका लागि भन्दै जिल्ला प्रहरी कार्यालय बोलाएर उनीहरूलाई हिरासतमा लिएको हो ।