
काठमाण्डू, ५ वैशाख– गत १५ चैतमा काठमाण्डूको तीनकुने क्षेत्रमा भएको राजावादी समुहको प्रदर्शनमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवलशमशेर राणालाई रिहा गर्ने तयारी गरीएको छ ।
जिल्ला प्रहरी परिसर काठमाण्डूको सिफारिसमा सरकारी वकिलको कार्यालय काठमाण्डूले उनलाई हाजिर जमानीमा छाड्न लागेको स्रोतले जानकारी दिएको छ । क्यान्सरका बिरामी राणाको नियमित फलोअप गर्नका लागि भारत जानुपर्ने भएकाले उनलाई हाजिर जमानीमा छाड्ने तयारी भएको स्रोतको भनाइ छ ।
स्रोतका उनको बयान पूरा भइसकेको छ भने अब मुद्दा लैजाँदा लैजाने गरी अहिलेलाई हाजिर जमानीमा छाड्ने तयारी भएको हो । राजावादी समू्हले गत चैत १५ गते काठमाण्डूको तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक भएसँगै राणा सोही दिन पक्राउ परेका थिए ।
क्यान्सरका बिरामी उनलाई उपचार गर्नबाट बञ्चित गर्न खोजिएको भन्दै शुक्रबार मात्रै राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले आपत्ति जनाएको थियो ।