
काठमाण्डू, ५ वैशाख– गृहमन्त्री रमेश लेखकले संविधान विरोधी कुनै पनि गतिविधि स्वीकार्य नभएको बताएका छन । आज (शुक्रबार) कास्कीको पोखरामा गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन ।
गृहमन्त्री लेखकले भने,‘ पूर्वराजावादी या अरू कुनै पनि नाममा हुने संविधान विरोधी गतिविधि तथा अस्थिरता निम्त्याउने काम कुनै पनि हालतमा क्षम्य हुँदैन ।’ ठुलो बलिदानी पूर्ण सङ्घर्षबाट अहिलेको संविधान प्राप्त भएको उल्लेख गर्दै उनले यसको रक्षाका लागि प्रत्येक ठाउँबाट तयार हुनुपर्ने पनि बताएका छन । उनले अहिलेको संविधान संसारकै उन्नत लोकतान्त्रिक संविधान भएको पनि बताएका छन ।
उनले भने, ‘यहाँ सात दशकको अन्तरालमा सात वटा संविधान बनेको छ, पटक पटक संविधान बन्नु राम्रो होइन ।’ संविधान विरोधी गतिविधिका माध्यमबाट हत्या हिंसालाई प्रश्रय दिने र संविधान फाल्छु भन्ने अराजक गतिविधि गरिए कारबाही गरिने चेतावनी समेत दिएका छन ।
वर्तमान संविधान निर्माणको १० वर्षे समयावधिको आवश्यक समीक्षा सहित सम्बद्ध सबैसँग सहमति कायम गरेर आवश्यकताको आधारमा संशोधन गर्न सकिने पनि उनले बताएका छन ।
सुरक्षा गोष्ठीमा प्रदेश अन्तर्गत सबै जिल्लाका सुरक्षा समितिका पदाधिकारीहरूको उपस्थिति छ । मन्त्री लेखकले आजै सङ्घ मातहत रहेको आपत्कालीन गोदाम घर गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरेका छन् ।