
काठमाण्डू, ७ वैशाख– नेपाल राष्ट्र बैंकले आज (आइतबार) ३० अर्ब रुपैयाँ बराबर तरलता खिच्दैँ छ । राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत २१ दिनका लागि उक्त रकम खिच्न लागेको हो ।
निक्षेप संकलन उपकरण मार्फत राष्ट्र बैंकमा पैसा राख्न चाहने बैंक तथा वित्तीय संस्थाले आइतबार दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्नुपर्ने बैंकले जारी गरेको सूचनामा उल्लेख गरीएको छ । घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जारी गरीएको सुचनामा उल्लेख गरीएको छ ।
निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्ने छ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने छ । यसको साँवा तथा ब्याज भुक्तानी भने २८ वैशाखमा हुनेछ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन ।
यसरी खरिद गरेको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने पनि राष्ट्र बैंकले जनाएको छ ।