सिंहदरबारको चारैतिरका सडकमा गाडी चलाउन रोक, दंगा टोली तैनाथ

काठमाण्डु टुडे २०८२ वैशाख ७ गते १५:१९ मा प्रकाशित

काठमाण्डू, ७ वैशाख– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनलाई लक्षित गरी सिंहदरबार वरपर सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार क्षेत्रका चारैतर्फका सडकमा सवारी साधन सञ्चालनमा समेत रोक लगाइएको छ ।

सिंहदरबार दक्षिण गेट, हनुमानथान, अनामनगर, वैद्यखाना, न्यूप्लाजा, सिंहदरबार पश्चिम गेट र स्वास्थ्य मन्त्रालयतर्फका सडक सुनसान रहेका छन । त्यहाँ ब्यारिकेड राखेर बाटो बन्द गरिएको छ । त्यसैले ती सडकहरु सुनसान छन् ।

सुरक्षाकर्मीहरु बाक्लो संख्यामा तैनाथ छन् । सिंहदरबारको पर्खाल वरिपरि दंगा नियन्त्रण बललाई खटाइएको छ । माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पताल नजिक पनि दंगा नियन्त्रण टोली र पानीको फोहोरा हान्ने गाडी तैनाथ गरिएको छ ।

सिंहरदबार भित्र प्रवेशमा पनि सर्वसाधारणलाई कडाइ गरिएको छ । सीमित संख्यामा आगन्तुकहरुलाई सुरक्षाकर्मीहरुले केरकार गरेर मात्रै जान दिएका छन् ।

राप्रपाले आज तीनकुने घटनाको न्यायिक छानबिन गर्नुपर्ने, पक्राउ परेका आफ्ना नेताहरुको रिहाइ गर्नुपर्ने लगायतका माग राखेर काठमाण्डूमा आज प्रदर्शन आयोजना गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us