पोखरा र भैरहवा विमानस्थलको अनियमिततामा आफ्नो संलग्नता पुष्टि गर्न योगेशको चुनौती

काठमाण्डु टुडे २०८२ वैशाख ८ गते १७:४४ मा प्रकाशित

काठमाण्डू, ८ वैशाख– पूर्व संस्कृति पर्यटन तथा नागरीक उड्यनमन्त्री समेत रहेका एमालेका सचिव योगेश भट्टराईले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको अनियमिततामा आफ्नो संलग्नता पुष्टि गर्न चुनौती दिएका छन् ।

०७६ साउन १५ गतेदेदि ०७७ पुस ५ गतेसम्म संस्कृति, पर्यटन तथा नगारिक मन्त्री रहेका भट्टराईले सोमबार सामाजिक सञ्जालमार्फत यस्तो चुनौती दिएका हुन् ।

एमाले सचिव भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पोखरा र भैरहवा विमानस्थल बारेमा मेरो हस्ताक्षरमा कुनै निर्णयले राज्यलाई कुनै नोक्सानी भएको भए प्रमाणसहित सार्वजनिक गर्न मेरा विरुद्ध प्रायोजित समाचार उत्पादन गर्ने कारखानालाई चुनौती छ ।’

आफूले गल्ती गर्ने र अर्कोलाई आरोप लगाउने प्रवृतिबारे आफू जानकार रहेको पनि उनले बताएका छन । उनले अगाडि लेख्छन्, ‘सत्ता र पदको दुरुपयोग गरेर भ्रष्टाचार र बेथितीको दलदलमा जाकिएकाहरू काँक्रा आफू खाने र बिँया अर्काको निधारमा टाँस्न कती खप्पिस छन् भन्ने मैले राम्ररी बुझेको छु । मिडिया ट्रायल गरेर उम्कन सकिन्छ भनेर ढुक्क नभए हुन्छ ।’

आफूमाथि जसले औंला उठाएका छन् उनीहरू नै दोषी हुन सक्ने भट्टराईको आरोप छ । भट्टराईले अगाडि लेखेका छन्, ‘मलाई औंला उठाउनेहरू नै पर्नेवाला छन् । डकुमेन्ट मसँग छ ।

आवश्यक परे सार्वजनिक गरौंला ।’ भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको अनियमितताबारे संसदीय उपसमितिले अध्ययन गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us