क्रान्तिकारी कम्युनिष्टले मात्र वर्तमान संकटको हल गर्न सक्छः प्रचण्ड

काठमाण्डु टुडे २०८२ वैशाख ९ गते १२:१५ मा प्रकाशित

काठमाण्डू, ९ वैशाख– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा विद्यमान राजनीतिक संकट क्रान्तिकारी कम्युनिस्ट पार्टीले मात्रै हल गर्न सक्ने बताएका छन् ।

लेनिन जन्मजयन्ती तथा नेपाल कम्युनिस्ट पार्टी स्थापनाको अवसरमा मंगलबार शुभकामना सन्देश दिँदै उनले जनताको लामो संघर्ष, त्याग र बलिदानका कारण आज हामी सामन्ती वंशवादमा आधारित राजतन्त्रको अन्त्य भएको बताए ।

‘महान् लेनिनले मानव सभ्यताको इतिहासमै पहिलो पटक श्रमजीवी वर्गको नेतृत्वमा समाजवादी राज्यको स्थापना गरी शोषणमुक्त र न्यायपूर्ण समाज सम्भव छ भन्ने तथ्यलाई प्रमाणित गर्दै क्रान्तिको माक्र्सवादी सिद्धान्तको विकास गर्नुभयो । पुँजीवादले फेरि असमानता, युद्ध, बेरोजगारी, सांस्कृतिक क्षय र वातावरणीय संकट निम्त्याइरहेको आजको विश्वमा लेनिनको विचार र उनले देखाएको बाटो अझ सान्दर्भिक र आवश्यक बनेको छ । मानव जातिले भोगिरहेको वर्तमान संकट क्रान्तिकारी कम्युनिस्ट पार्टीले मात्रै हल गर्न सक्छ भन्ने कुरा पुनः पुष्टि भइरहेको छ,’ प्रचण्डले शुभकामना सन्देशमा भनेका छन् ।

कम्युनिस्ट आन्दोलनको सुरुआतसँगै समाजको पीँधमा रहेका जाति, वर्ग र समुदायका मुद्दाहरू मुखरित भई उत्पीडित जनताको लामो संघर्ष, त्याग र बलिदानका कारणसामन्ती वंशवादमा आधारित राजतन्त्रको अन्त्य भएको उनले बताएका छन् ।

‘यतिखेर एकथरि प्रतिगमनकारी र पुनरूत्थानवादी शक्तिहरूले जनताका उपलब्धिहरू खोसेर नेपाली समाजलाई फेरि सामन्ती निरंकुशतातर्फ लैजाने दुस्साहस गर्दैछन् । तर, यो उनीहरूको दिवास्वप्न मात्रै हो, किनभने संघर्षको जगमा प्राप्त उपलब्धिहरू नेपाली जनताले युगौंदेखि साँच्दै आएका सपना हुन्, जसको रक्षा र थप विकासबाट मात्रै हाम्रासामु देखिएका चुनौतीको सामना गर्दै समाजवादतर्फको यात्रामा अघि बढ्न सकिन्छ । परिवर्तनका पक्षधरहरूका लागि यो नै आजको प्रमुख राष्ट्रिय जिम्मेवारी समेत बनेको छ,’ प्रचण्डले सन्देशमा भनेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us