विद्या भट्टराईको राजीनामाबारे बोले ओली

काठमाण्डु टुडे २०८२ वैशाख ९ गते १६:२६ मा प्रकाशित

काठमाण्डू, ९ वैशाख–प्रधानमन्त्री केपी ओलीले शिक्षामन्त्री विद्या भट्टराईको राजीनामाबारे सार्वजनिक रुपमा प्रष्टीकरण दिएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको ७६औं स्थापना दिवसका अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा ओलीले भट्टराईले स्वास्थ्यका कारण राजीनामा दिएको दाबी गरे ।

शिक्षक आन्दोलनका एजेण्डा सम्बोधनका लागि आफूले अघि सारेको ७ बुँदे मार्गचित्रमा ओली सहमत नभएपछि भट्टराईले सोमबार पदबाट राजीनामा दिएकी थिइन् ।
ओलीले भट्टराईले आफूसँग असहमति नभई स्वास्थ्यका कारण राजीनामा दिएको दाबी गरे ।
भट्टराईको राजीनामालाई प्रधानन्त्रीको असहयोग र उपेक्षाका कारण भनेर चर्चा गरिएकामा उनले असन्तुष्टि जनाए ।

‘उहाँ मैले बनाएको मन्त्री हो । मैले काम लगाइरहेको छु । सहयोग गरिरहेको छु । सिकाइराखेको छु । ठूलो मन्त्रालय छ । अहिले स्वास्थ्य ठिक भएन भनेर राजीनामा दिनुभएको हो । यसमा अन्य प्रचारबाजी गर्नुको कुनै अर्थ छैन’, आलीले भने ।

प्रधानमन्त्री ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य परीक्षणका लागि बैँकक गएको सन्दर्भलाई पनि सरकार ढल्छ भन्ने खालका हल्लासँग जोड्न खोजिएको टिप्पणी गर्दै एमाले र काँग्रेससँगको सहमतिबमोजिम १५ महिनापछि आफूले सभापति देउवालाई प्रधानमन्त्री हस्तान्तरण गर्ने दोहोर्याए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us