
काठमाण्डू, ९ वैशाख– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्दोलन नछाड्न शिक्षकहरुलाई आग्रह गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टीको ७६औं स्थापना दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा उनले पटकपटक धोका भएकाले शिक्षकहरुको आन्दोलनले निकास नपाएसम्म निरन्तरता पाउनुपर्ने बताएका हुन् ।
उनले शिक्षकका जायज मागबारे सकार र प्रधानमन्त्री केपी ओली गम्भीर नरहेको आरोप लगाए । ‘शिक्षक साथीहरूलाई धैर्यतापूर्वक आन्दोलनलाई निरन्तरता दिन अपिल गर्छु,’ उनले भने, ‘तपाईंहरुमाथि पटकपटक धोका भएको छ ।’
उनले शिक्षक आन्दोलनका मागमा ओली गैरजिम्मेवार ढंगले प्रस्तुत भएका कारण शिक्षामन्त्रीबाट विद्या भट्टराईले राजीनामा दिएको दाबी गरे ।
शिक्षकका समस्या माओवादी वा कुनै पार्टी विशेषको नभई मुलुकमै समस्या रहेको भन्दै उनले सबै मिलेर समाधान खोज्नुपर्ने औंल्याए । शिक्षकहरुले सरकारसँग विगतमा भएका सहमतिको पालना गर्न ध्यानाकर्षण गराएको र उनीहरुका माग नयाँ नभएको उनको प्रष्टीकरण थियो ।
‘शिक्षकका समस्यामा प्रधानमन्त्री असाध्यै नकारात्मक भइदिएपछि एमालेकै शिक्षा मन्त्रीले राजीनामा दिनुभयो’, उनले भने, ‘यसबाट पनि सरकार कति गैरजिम्मेवार छ भन्ने नयाँ प्रमाण प्रस्तुत भएको छ । यो सरकार आफ्नै बोझमा दबिएर सिद्धिन्छ ।’