नेप्से परिसूचकमा गिरावट, कारोबार रकम समेत घट्यो

काठमाण्डु टुडे २०८२ वैशाख ९ गते १८:५३ मा प्रकाशित

काठमाण्डू, ९ वैशाख– मंगलबार पनि शेयर बजारमा गिरावट आएको छ ।

नेप्से परिसूचक ९.९६ अंकले घट्दै २६८८.३२ विन्दुमा झरेको छ। परिसूचकसँगै कारोबार रकम पनि घटेको छ ।
अघिल्लो दिन सोमबार ८ अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा मंगलबार ८ अर्ब ३२ करोड रुपैयाँको मात्रै कारोबार भएको हो ।

यसअनुसार कारोबार रकममा ४५ करोड रुपैयाँको कमी आएको छ । मंगलबार कुल ३१९ वटा धितोपत्रको २ करोड २५ लाख ५५ हजार ७१३ कित्ता सेयर किनबेच भएका थिए ।

बजारमा ८६ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने १६० कम्पनीको मूल्य घटेको छ । एक कम्पनीको मूल्य स्थिर रह्यो ।

नेपाल माइक्रो इन्स्योरेन्सको मूल्य सर्वाधिक १० प्रतिशतले बढेर प्रतिकित्ता ७८३ रुपैयाँ ४० पैसा पुगेको छ ।
त्यसैगरी, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको मूल्य ९.९८ प्रतिशतले बढेर ६४७ रुपैयाँ ७० पैसा कायम भएको छ ।

उता, कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेर २४७१ रुपैयाँ ९० पैसामा झरेको छ । युनियन हाइड्रोपावरको मूल्य ६.०७ प्रतिशतले घट्दै प्रतिकित्ता ३२८ रुपैयाँमा झरेको छ ।

मंगलबार सबैभन्दा धेरै कारोबार ङादी ग्रुप पावरको सेयरमा भयो । कम्पनीको ३२६ रुपैयाँ प्रतिकित्ता दरमा ४४ करोड ६० लाख रुपैयाँको कारोबार भएको हो । यो अघिल्लो दिनको तुलनामा ३.८५ प्रतिशतले कम हो ।

दोस्रो सर्वाधिक कारोबार हिमालयन पावर पार्टनरको सेयरमा भयो । कम्पनीको सेयर ५८२ रुपैयाँमा ४० करोड ९४ लाख बराबरमा किनबेच भएको हो ।

मंगलबार कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये ३ समूहको परिसूचकमा वृद्धि भएको छ भने १० समूहको घटेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us