देशभरका केन्द्राध्यक्षलाई काठमाण्डू आउन शिक्षक महासंघको निर्देशन

काठमाण्डु टुडे २०८२ वैशाख ९ गते १९:०३ मा प्रकाशित

काठमाण्डू, ९ वैशाख– शिक्षकहरुको बहिस्कार गर्ने चेतावनीबीच सरकारले कक्षा १२ को परीक्षा पूर्वनिर्धारित मितिमै गराउने तयारी गरेपछि आन्दोलनरत शिक्षकहरुको संस्था शिक्षक महासंघ थप कडा रुपमा प्रस्तुत हुने संकेत देखिएको छ ।

महासंघले परीक्षा बहिष्कारको घोषणा गर्दै सम्पूर्ण नेतृत्वसहित काठमाण्डू केन्द्रित जारी आन्दोलनमा जुट्न आह्वान गरेको हो ।

महासंघले बिहीबार विज्ञप्ति जारी गर्दै देशभरका केन्द्राध्यक्ष, प्रधानाध्यापक, शिक्षक र विद्यालय कर्मचारीहरूलाई परीक्षामा संलग्न नहुन र सडक आन्दोलनमा सक्रिय सहभागिता जनाउन अपिल गरेको हो ।

महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाद्वारा जारी विज्ञप्तिमा वैशाख ११ गतेदेखि सुरु हुने परीक्षामा भाग नलिन निर्देशन दिइएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले मंगलबार प्रमुख जिल्ला अधिकारीमार्फत निजामति कर्मचारी परिचालन गरेर भए पनि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो ।

महासंघले परीक्षा प्रक्रियामा सहभागी हुन शिक्षकमाथि धम्कीपूर्ण दबाब दिइएको भन्दै आपत्ति जनाएको छ।

‘परीक्षा प्रक्रियामा कुनै हालतमा सहभागी नहुन हामी प्रधानाध्यापक, शिक्षक तथा विद्यालय कर्मचारीहरूलाई आग्रह गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us