
काठमाण्डू, १० वैशाख– कांग्रेस कार्यबाहक सभापति पूर्णबहादुर खड्काले वर्तमान सरकारको काम गर्ने तरिका जनअपेक्षा अनुसार नभएको तीव्र असन्तुष्टि जनाएका छन् ।
राजधानीमा बुधबार आयोजित एक कार्यक्रमको दौरान उनले सरकारको शैली, गति र नीतिमा देखिएका कमजोरी सच्याउनु अपरिहार्य भएको बताए ।
उनका अनुसार कांग्रेस सत्ता साझेदार दल एमालेसँग भएको सहमति अनुरूप नै अगाडि बढ्ने छ । ‘हामीले जुन लक्ष्य लिएर गठबन्धनमा सहमति गरेका थियौं, त्यस बाटोबाट विचलित हुने प्रश्न नै उठ्दैन’, खड्काले भने । तर उनले स्पष्ट संकेत गरे कि सरकारको काम गर्ने तरिकामा यदि खोट देखिन्छ भने त्यसलाई बेवास्ता गर्न सकिँदैन ।
खड्काले प्रधानमन्त्रीलाई समेत यथास्थितिबाट बाहिर निस्केर जनभावना बुझेर काम गर्नुपर्ने सन्देश दिएको बताए । ‘आमनागरिक र मतदातामा बढ्दो असन्तुष्टिप्रति संवेदनशील बन्नुपर्छ’, उनले भने, ‘जनगुनासोलाई सम्बोधन गर्दै विश्वास कायम गर्न कांग्रेस प्रतिबद्ध छ ।’
उनले पार्टीभित्र सरकारको कार्यशैलीबारे गम्भीर छलफल भइरहेको पनि बताए ।
सभापति शेरबहादुर देउवा थाइल्याण्ड भ्रमणबाट फर्केपछि छलफल गरी सरकारबारे नयाँ ढंगले जाने तयारी भएको उनले उल्लेख गरे । सरकार सञ्चालन प्रभावकारी बनाउन कांग्रेस दृढतापूर्वक अघि बढ्ने र कमजोरीसँग सम्झौता नगर्ने उनले प्रस्ट पारे ।
खड्काले व्यापक रणनीति, नीतिगत सुधार र व्यवहारिक अभियानमार्फत जनविश्वास पुनःस्थापना गर्ने दिशामा पार्टी अग्रसर हुने पनि दाबी गरे ।