काँग्रेस सरकारबाट बाहिरिन सक्छः गगन थापा

काठमाण्डु टुडे २०८२ वैशाख ११ गते १७:२९ मा प्रकाशित

काठमाण्डू, ११ वैशाख– कांग्रेस महामन्त्री गगनकुमार थापाले आफ्नो पार्टी वर्तमान गठबन्धन सरकारबाट बाहिरिन सक्ने बताएका छन् ।

१९औं लोकतन्त्र दिवसका अवसरमा बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा थापाले सरकारबाट पार्टी बाहिरिन सक्ने बताए । सरकारमा बसिरहनुपर्ने बाध्यतामा आफूहरु नरहेको उनको भनाइ थियो ।

काँग्रेस सभापति शेरबहादुर देउवाको थाइल्याण्ड भ्रमणलाई लिएर राजनीतिक बजारमा विभिन्न अड्कलबाजी भइरहेका बेला सरकार सञ्चालनसम्बन्धी संयन्त्रका सदस्यसमेत रहेका प्रमुख सत्तारुढ घटकका शक्तिशाली महामन्त्री थापाको यो भनाइलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

सरकारको बचाउ गर्दै आएका थापाले केही दिनअघि ‘बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेड रुमसम्मै रहेको’ अभिव्यक्ति दिएका थिए ।

‘हामी बाध्यताले मात्र सरकारमा छौं । केही कुरामा कम्परमाइज गरेर बसिरहेका हौं’, थापाले भने, ‘तर, आधारभूत कुराहरूमा कम्परमाइज गर्दैनौं । हामीले भन्न सक्नुपर्छ, पर्यो भने हामी यस्तो सरकारबाट बाहिर जान्छौं ।’

सरकार आफूहरुका लागि ठूलो कुरा नभएको उनको भनाइ थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us