
काठमाण्डू, १३ वैशाख– काठमाण्डूको आन्दोलनबाट फर्किएका शिक्षकहरू चढेको बस दुर्घटनामा परेको छ । काठमाण्डूबाट झापा आइरहेको प्रदेश १–०१–००१–ख४२ नम्बरको रात्रिबस आज बिहान साढे ५ बजे शिवसताक्षी नगरपालिका–९ स्थित पूर्वपश्चिम राजमार्गको दूधे खण्डमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यलय झापाले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलनकुमार केसीका अनुसार दुर्घटनामा १६ जना घाइते भएका छन् । घाइतेको विर्तामोडस्थित विर्तासिटी हस्पिटल र बिएन्डसी हस्पिटलमा उपचार भइरहेको उनले जानकारी दिएका छन ।
सबै आन्दोलनबाट फर्किएका शिक्षक रहेको घाइतेमध्येका शिक्षक लीलाप्रसाद भण्डारीले जानकारी दिए । घाइते एक जनाको अवस्था गम्भीर रहेको पनि प्रहरीले जानकारी दिएको छ ।
‘म ड्राइभरको सिट पछाडि नै थिएँ’, घाइते शिक्षक भण्डारीले भने, ‘अघिदेखि नै गाडी अस्वाभाविक रूपमा हल्लिरहेको थियो । एक्कासी गाडी सडकबाट पल्टियो । मुस्किलले बाँचियो ।
गाडीबाट इन्धन पोखिरहेको देखेपछि घाइते अवस्थामै मैले अरू घाइतेलाई गाडीबाट छिटोछिटो उद्धार गरेर बाहिर निकालें ।’ बस अनियन्त्रित भई दुर्घटना भएको र बसका चालक महेन्द्र कन्दङ्वालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक केसीले जानकारी दिए ।