अछामको साफेबगर हाटबजारमा आगलागी, १० पसल जले

काठमाण्डु टुडे २०८२ वैशाख १३ गते १२:११ मा प्रकाशित

काठमाण्डू, १३ वैशाख– अछामको साफेबगर बजारमा रहेको हाटबजारमा आगजनी भएको छ । शनिबार बिहान पौने ४ बजेको समयमा हाटबजारमा आगलागी हुँदा १० वटा पसल जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ ।

स्थानीय प्रेम खड्काले सञ्चालन गरेको शुभेच्छा मःम सेन्टरमा विद्युत सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ईश्वरीप्रसाद भण्डारीले जानकारी दिएका छन ।

आगो अन्य पसलहरुमा समेत फैलिंदा १० वटा जस्ता पाताले छाएका पसल जलेर नष्ट भएको उनले जानकारी दिए । तर, मानवीय र पशुचौपाया क्षति भने भएको छैन ।

प्रहरीले सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो बिहान ६ बजे नियन्त्रणमा लिइएको जनाएको छ । आगलागीबाट हाटबजारमा सञ्चालनमा रहेका कालभैरव जनरल स्टोर, रिभरसाइड नास्ता पसल, ब्युटिपालर, डाक मोबाइल ग्यालरी, कालभैरव सुनचाँदी पसल, रोडसाइड रेष्टुरेन्ट, ई.भी. काउन्टर एण्ड पसल र शीतल होटल एण्ड गेष्ट हाउस जलेर नष्ट भएको डीएसपी भण्डारीले जानकारी दिएका छन ।

मंगलसेन नगरपालिकाको दमकल मर्मतका लागि धनगढी पठाइएका कारण आगो नियन्त्रणमा लिन ढिलाइ भएको थियो । तर, बिहान ६ बजे भने दमकलको प्रयोग नगरेरै आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट १० पसल जले पनि क्षतिको यकिन विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us