कमल थापाको सभामा पुगेर लिङ्देनले भनेः पूर्वाग्रह त्यागेर एक बनौं

काठमाण्डु टुडे २०८२ वैशाख १५ गते १६:१३ मा प्रकाशित

काठमाण्डू, १५ वैशाख– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सबै देशभक्त र राष्ट्रवादी समूह एकजुट हुनुको विकल्प नभएको बताएका छन ।

आज (सोमबार) कमल थापा नेतृत्वको राप्रपा नेपालले काठमाण्डूको शान्तिबाटिकामा आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन ।

साथै, उनले पूर्वाग्रह त्यागेर देशलाई निकास दिन अपिल समेत गरेका छन् । कमल थापा र लिङ्देन पहिले एउटै पार्टीमा थिए । राप्रपाको अध्यक्ष लिङ्देन निर्वाचित भएपछि कमल थापाले नयाँ पार्टी खोलेका थिए ।

लिङ्देनसँग पराजित भएपछि थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासले हस्तक्षेप गरेको आरोप लगाएका थिए । ‘राजसंस्था बोकेर हिंडेको पुरस्कार पाइयो, राजाको भलो होस्’ भनेर उनी राप्रपाबाट अलग भएका थिए ।

यो घटनाका कारण केही वर्ष एकअर्काका प्रतिद्वन्द्वी जस्ता देखिएका थापा र लिङ्देन राजासंस्थाको पक्षमा गतिविधि हुन थालेपछि नजिकिएका छन् । सोही क्रममा उनीहरु आज एउटै मञ्चमा देखिए ।

उक्त सभालाई सम्बोधन गर्दै लिङ्देनले भनेका छन्, ‘सबै देशभक्त शक्तिहरूलाई सबै प्रकारका आग्रह पूर्वाग्रह त्यागेर देशलाई निकास दिन अघि बढौं । यो कार्यका लागि राप्रपा सधैं तयार छ ।’

उनले सबैसँग मिलेर काम गर्न राप्रपा तयार भएको पनि बताए । ‘सबै काम गर्न, सबैसँग मिलेर काम गर्न राप्रपा तयार छ । यसमा कुनै द्वीविधा छैन । म यो कुरा मात्रै भन्न चाहन्छु,’ लिङ्देनले भने, ‘अहिले सिंगो दशले हामीलाई आशाको नजरले हेरिरहेको छ । त्यसकारण सबै देशभक्त शक्तिहरूलाई सबै प्रकारका आग्रह पूर्वाग्रह त्यागेर देशलाई निकाश दिन अघि बढौं ।’ लिङ्देनले आफूलाई आमन्त्रण गरेकोमा थापालाई धन्यवाद पनि दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us