
काठमाण्डू, १५ वैशाख– एमाले सांसद गोकुल प्रसाद बास्कोटाले पोखरा विमानस्थलको अध्ययन प्रतिवेदनमा फरक मत राखेका छन् । संसद्को सार्वजनिक लेखा समितिले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको भनिएको अनियमितताबारे अध्ययन गर्न संसदीय उपसमिति बनाएको थियो ।
गत असार १४ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनको संयोजकत्वमा गठित उपसमितिले सोमबार मूल समितिमा अध्ययन प्रतिवेदन बुझाएको छ । जसमा उपसमितिका सदस्य बास्कोटाले फरक मत राखेका हुन् ।
‘नेपाल नागरिक उड्ययन प्राधिकरण र China CAMC Engineering Co. Ltd. बीच भएको सम्झौता अनुरुप अगाडी बढेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा प्रारम्भिक लागत अनुमान १४५ मिलियन अमेरिकी डलरबाट परियोजनाको लागत २१५.९६५ मिलियन अमेरिकी डलर (भ्याट बाहेक) कायम गर्न उपयुक्त हुने भनी तत्कालीन मन्त्रिपरिषद्ले बनाएको कार्यदलले के आधारमा लागत अनुमान बढाइयो भन्ने बास्कोटाको प्रश्न छ ।
राजस्व छुट सम्बन्धी विवाद, निर्माणका कतिपय कार्यहरु सम्पन्न नभएको र प्राविधिक परीक्षणसमेत पूर्ण रुपमा नभएको अवस्थामा विमानस्थल उद्घाटन र हस्तान्तरण कुन आधारमा, किन र कसरी गरियो ? भन्ने उनको अर्को प्रश्न छ । यी विषयमा समेत एकिन गरी आवश्यक कानुनी कारवाहीको लागि सिफारिश गर्नुपर्ने बास्कोटाको थप राय रहेको छ ।
उपसमिति सांसदहरू बास्कोटासहित राजन दाहाल, अर्जुननरसिंह केसी, जनार्दन शर्मा, प्रेमबहादुर आले, तारा लामा, तेजुलाल चौधरी, दीपक गिरी, देवप्रसाद तिमिल्सिना, रामकृष्ण यादव र रुक्मणि राना सदस्य थिए ।