राजसंस्थाको माहोल छ, अन्तिम धक्का दिऔंः कमल थापा

काठमाण्डु टुडे २०८२ वैशाख १५ गते १६:४० मा प्रकाशित

काठमाण्डू, १५ वैशाख– राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था पुनर्स्थापनाको माहोल बनिरहेको भन्दै एकढिक्का हुन सबै नेताहरुलाई आग्रह गरेका छन । अब ‘अन्तिम धक्का’ आवश्यक रहेको भन्दै उनले केही समयका लागि मात्र भए पनि एकढिक्का हुन राजसंस्था पुनर्स्थापनाको पक्षमा भएका नेताहरुलाई आह्वान गरे ।

आज काठमाण्डूको शान्तिवाटीकामा राप्रपा नेपालले आयोजना गरेको प्रदर्शन र सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले गणतन्त्रवादीको असफलताले राजसंस्थाको पक्षमा आफसेआफ माहोल बनेको उनले बताएका हुन । उनले भने, ‘हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाको माहोल बन्दै गइरहेको छ ।

जनता स्वस्फूर्त आइरहेका छन्, हाम्रो संगठनात्मक प्रयासभन्दा पनि, ‘एकतातिर यी गणतन्त्र पक्षधरहरुको असफलता, अर्कोतर्फ हिन्दु राष्ट्र र राजसंस्थाको विचारको लोकप्रियताको कारणले गर्दा माहोल तयार भइसकेको छ ।

अब अन्तिम धक्काको मात्रै आवश्यकता छ ।’ मञ्चमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर विष्ट, राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन परिचालन समितिका संयोजक नवराज सुवेदी लगायत नेताहरु सहभागी थिए ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै थापाले आफूहरुका लागि ‘अनुकूल अवसर’ भएको विश्लेषण सुनाए । त्यसैले चुप लागेर नबस्न उनले आह्वान गरे । ‘यो अवस्थामा यदि हामी आफ्नो व्यक्तिगत स्वार्थ, कुण्ठाको कारणले गर्दा चुप लागेर बस्यौं भने हाम्रो विचार र हाम्रो मान्यताको अस्तित्व नै समाप्त हुनसक्ने खतरा छ,’ थापाले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us