
काठमाण्डू, १६ वैशाख– सुनसरीको धरानबाट चोरी भएको यात्रुबहाक बस विराटनगरमा फेला परेको छ । गत शुक्रबार बिहान धरान उपमहानगरपालिका–८ दुर्गापथस्थित ग्यारेजबाट चोरी भएको प्रदेश १– ०२–००१ को ९७४९ नम्बरको बस चार दिनपछि विराटनगर महानगरपालिका– १२ आज मंगलबार फेला परेको प्रहरीले जानकारी दिएको छ ।
ग्यारेजबाट हराएको बस पार्टपुर्जा निकालिएको अवस्थामा मंगलबार दिउँसो विराटनगरमा भेटिएको हो । बसका मालिक हरेन्द्र चेम्जोङ हुन् । विराटनगर–१२ मा राखिएको बसको पार्टपुर्जा भने विराटनगर–६ स्थित गीतादेवी साहले सञ्चालन गरेको कवाडी गोदाममा फेला परेको प्रहरी स्रोतले जानकारी दिएको छ ।
शुक्रबार चोरी भएको बस पूर्वपश्चिम राजमार्गको खोर्साने हुँदै विराटनगर तर्फ आएको सीसी क्यामेराको फुटेजमा देखिएको थियो । तर बस फेला परेको थिएन । मंगलबार दिउँसो मंगलबारेमा बेवारिसे अवस्थामा बस देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
बस चोरी गर्ने गिरोहको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । पहाडी रुटमा चल्ने बसको अगाडिको सिसाको माथिल्लो भागमा सिद्धदेवी यातायात र तल्लो भागमा याक्थुङ यातायात लेखिएको छ ।