
काठमाण्डू, १६ वैशाख– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सरकार शिक्षकहरूका जायज मागहरूलाई सम्बोधन गर्न अनुदार बनेको आरोप लगाएका छन ।
आज (मंगलबार) बसेको प्रतिनिधिसभा बैठकपछि संसद् भवन परिसरमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै माओवादी सांसद पुनले यस्तो बताएका हुन । उनले संसदमा प्रतिपक्षी दलहरूको तर्फबाट जरुरी सार्वजनिक महत्वको प्रस्तावमा सरकारले गम्भीरता नदेखाएको पनि बताएका छन ।
उनले भने, ‘प्रतिनिधि सभामा नेकपा (माओवादी केन्द्र) र अन्य प्रतिपक्षी दलहरूको तर्फबाट जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गरिएको थियो । छलफलको माग गरेका थियौँ । तर सरकारले यसमा गम्भीरता देखाएन ।’
पुनले २८ दिनदेखि जारी रहेको शिक्षक आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै शिक्षकका मागलाई सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराइएको भएपनि बेवास्ता गरेको आरोप पनि लगाएका छन ।
उनले भने, ‘२८ दिनदेखि शिक्षकहरू सडकमा रहेका छन् । सामुदायिक विद्यालयका विद्यार्थीहरू घरमै रहेका छन् । भर्ना हुन पाएका छैनन्, ‘एसईई परीक्षाको पेपरहरू जाँच गरिएको छैन ।
कक्षा १२ को परीक्षा अन्योल रहेको छ । शिक्षकहरू ऐन नलिई नजाने भन्नुभएको छ, शिक्षक यसमा अनुदार बनेको छ ।’ नेता पुनले शिक्षकका माग सम्बोधनका लागि पहल थाल्ने शिक्षामन्त्रीलाई सरकारले हटाएको आरोप लगाए ।