
मंसिरमा गर्ने भनिएको निर्वाचनमा मनोनयन दर्ता गर्ने पाँच दिन बाँकी रहँदा चुनावका पक्षधर र चुनाव विथोल्ने घोषणा गरेको समुहले चुनाव सार्ने विषयको कुराकानीलाई तीब्रता दिएका छन्।
त्यस्तो प्रक्रियामा पार्टीको निर्णायक तहमा नरहेका नेताहरु क्रियाशील भइरहेको देखिएको छ। तर वार्ताका सहभागीहरुले पार्टीका शीर्ष नेताहरुको सहमति लिएरै कुराकानी भइरहेको बताएका छन्।
‘संभव माग’
असन्तुष्ट समुहले मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले प्रधान न्यायाधीशबाट राजीनामा दिनुपर्ने र चुनाव चैतमा सारिनुपर्ने दुइवटा माग मात्र बाँकी राखेको दलहरुबीच अनौपचारिक वार्ताको तारतम्य मिलाउन सक्रिय भनिएका एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ बताउँछन्।
ति दुवै माग संबोधन गर्न सकिने किसिमका भन्दै श्रेष्ठले अन्तिम समयसम्म सहमतिको प्रयत्न गरिने बताउँछन्।दलका शीर्ष नेताहरु यी वार्ताहरुमा प्रत्यक्ष संलग्न देखिएका छैनन्।तर सबै दलका शीर्ष नेताहरुसँग असन्तुष्ट समुहलाई चुनावमा सहभागी गराउने भन्ने विषयमा अनौपचारिक कुराकानी भइरहेको श्रेष्ठको भनाइ छ।
सहमति
यस अघि उच्च स्तरीय समिति, सरकार र राष्ट्रपतिको अग्रसरतामा चुनाव पक्षधर र असन्तुष्ट समुहबीच सहमति खोज्ने प्रयत्न विफल भएको थियो।तर संविधान सभाको निर्वाचनमा ठूलै असन्तुष्ट समुहलाई छोडेर अगाडि बढ्नु मुलुकलाई द्वन्द्वतिर धकेलिने भएकाले अन्तिम प्रयास गरेको नेपाली कांग्रेसका नेता दीप कुमार उपाध्याय बताउँछन्।उनी भन्छन्, “मुख्य नेताहरुसँग सहमति लिएरै मैले यि कुराहरु बोलिरहेको छु।”
शुक्रबार भएको अनौपचारिक भेट वार्ताका विषयलाई आफ्ना शीर्ष नेताहरुकहाँ पुर्याएर निर्णय लिइने सहभागी एमाले नेता सुरेन्द्र पाण्डेले बीबीसीलाई बताएका थिए।
आशावादी
तीन प्रमुख दलका केहि प्रतिनिधि र असन्तुष्ट मोर्चाका केहि सदस्यबीच भएको बैठकबाट आशावादी सुनिएका मोर्चाका एक सदस्य मणि थापा भन्छन्, “सबै पार्टीका प्रभावशाली र प्रगतीशील विचार राख्ने नेताहरुबीच कुराकानी भएको छ हामी आशावादी भएका छौं हाम्रो प्रस्ताव चैत चार गते चुनाव गरौं भन्ने हो।”
बीबीसीकी काठमाडौंस्थित एकजना संवाददाता भन्छिन्, दलहरु मंसिरको चुनाव सार्ने बहाना खोजिरहेका छन् भन्ने मत कैयौंले राखिरहेका बेला भएको सहमति खोज्ने प्रयत्न परिणाम दायी होला भन्नेमा आशंका गर्नेहरु पनि थुप्रै छ्न्। source bbc