
धादिङ, २ पुस– वैदेशिक रोजगारीबाटै गर्भ लिएर फर्केकी सिर्जना तामाङ अन्तत: एक महिने छोरो बेचेर बेपत्ता भएकी छन् ।
श्रीमान् र छोरालाई काठमाण्डु डेरामा छाडेर दुई वर्षअघि आफन्तसँग मलेसिया पुगेकी झर्लाङ–३ की सिर्जना तामाङलाई रोजगारीकै क्रममा गर्भवती फेला पारेपछि रोजगारदाताले गत भदौमा नेपाल फर्काएको थियो ।
गर्भवती बनाउने आफन्तले बालकलाई स्वीकार नगरेपछि जिल्ला प्रहरी कार्यालय धादिङमा पुगेकी सिर्जनालाई प्रहरीले महिला तथा बालबालिका कार्यालयमा जिम्मा लगाई तत्काल अस्पताल भर्ना गराएको थियो । गत असोज १४ गते उनले छोरा जन्माएकी थिइन् ।
सुत्केरी भएलगत्तै श्रीमान्ले पनि स्वीकार नगरेको र मलेसियामा गर्भवती तुल्याउने हाडनाताभित्रकै आफन्तजनले पनि स्वीकार्न नसकेपछि शिशु बेच्न बाध्य भएको खुलासा भएको छ । ‘हाम्रो अनुसन्धानले सिर्जनाले बाध्य भएर बुटवलबाट आएका निसन्तान दाम्पतिलाई जिम्मा लगाएर आफू बेपत्ता भएको’, महिला तथा बालबालिका कार्यालयका बालअधिकार अधिकृतले बताए ।
निसन्तान दाम्पति धादिङबेसी पुगेर बजारस्थित धादिङ खाजाघर एवं गेस्ट हाउसमा दुई पटक बास बसेको र हाफ्नो नाम, ठेगानामा महन्त वाग्ले, बुटवल मात्र लेखाएका छन् ।
कान्तिपुर दैनिकबाट