
काठमाण्डु, २ पुस– नेपाल आयल निगमले सिनामंगलस्थित हवाई इन्धन डिपोमा तेल ओसार्ने ट्यांकरचालकसँग ट्यांकरको तल्लो भागबाट तापक्रम नाप्ने सहमति गरेको छ । तल्लो भागबाट तेल मापन गर्दा प्रतिट्यांकर ४५ लिटर तेल चोरी गर्न सकिने निगम स्रोतको भनाइ छ ।
सञ्चित घाटा ३५ अर्ब र ३७ अर्ब ऋणमा रहेको निगमलाई नोक्सानी कम गर्न ट्यांकरको माथिल्लो, मध्य र तल्लो भागको औसत तापक्रम लिन विभिन्न कार्यदलले सुझाब दिएका छन् । तीन पटकसम्म नापेर औसत निकाल्न झन्झट भए ट्यांकरको मध्य भागलाई आधार मानेर तापक्रम नोक्सनीको दर निर्धारण गर्न पनि कार्यदलको सुझाब छ । तर, निगम व्यवस्थापनले बुधबार चालकसँग ट्यांकरको तल्लो भागबाट मात्र तापक्रम नोक्सानी नाप्ने सहमति गरेको छ ।
गुणस्तर तथा नाप–तौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनी संयोजकत्वको कार्यदलले ७ मंसिरमा बुझाएको प्रतिवेदनमा ट्यांकरको तल्लो भागबाट तापक्रम लिँदा करिब ३ डिग्री सेन्टिग्रेड तापक्रम कम हुन्छ । २० किलोलिटरको ट्यांकरमा तीन डिग्री सेन्टिग्रेड तापक्रम फरक पार्दा ४५ लिटर तेल चोरी गर्न सकिने कार्यदलको प्रतिवेदनमा उल्लेख छ ।
आफूहरुको सुझाबको बेवास्ता गर्दै निगम व्यवस्थापनले तेल चोरी गर्न सहज बनाइदिएको कार्यदलका एक सदस्यले बताए । ती सदस्यका अनुसार ट्यांकरको तल्लो भागबाट तापक्रम मापन गरे एक पटकमा ६ हजार ३ सय लिटर तेल चोरी हुनेछ । प्रचलित मूल्यअनुसार सो परिमाणको नौ लाख रुपैयाँ पर्छ । सिनामंगल डिपोमा तेल ओसार्न १ सय ४० ट्यांकर प्रयोग हुने गरेका छन् ।
स्रोतका अनुसार कार्यदलले ट्यांकरको मध्य भागबाट तापक्रम लिन सुझाब दिएपछि ट्यांकरचालकहरुको संगठन नेपाल यातायात स्वतन्त्र मजदुर संघले ढुवानी ठप्प पार्ने चेतावनी दिएको थियो । निगमका केही डिपो प्रमुखकै योजनामा संघले ढुवानी ठप्प पार्ने चेतावनी दिएको स्रोतको दाबी छ ।
नयाँ पत्रिका दैनिकबाट