
काठमाण्डु असोज–नेपालका लागि बेलायती राजदूत एन्ड्रयू जेम्स स्पार्क र नेपाल उद्योग परिसंघका पदाधिकारीबीच नेपाल र बेलायतको आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तारका विषयमा छलफल भएको छ ।
छलफलमा परिसंघका अध्यक्ष नरेन्द्रकुमार बस्न्यातले नेपाल र बेलायतबीचको आर्थिक एवम् व्यावसायिक सम्बन्ध थप गहन बनाउन र नेपालमा बेलायती लगानी भित्रयाउन आग्रह गरे । “दुईसय वर्ष पुरानो नेपाल र बेलायतको राजनीतिक तथा कूटनीतिक सम्बन्धलाई अब आर्थिक तथा व्यापारिक सम्बन्धमा केन्द्रित गर्नुपर्ने बेला भएको छ,” अध्यक्ष बस्न्यातले भने ।
नेपालमा लगानीको सम्भावना भएका जलविद्युत् र पर्यटनलगायत क्षेत्रमा बेलायती लगानीकर्तालाई आमन्त्रण गर्न बेलायती समकक्षीसँग सम्बन्ध विस्तार र आपसी हितका विषयमा मिलेर काम गर्न परिसंघ सदैब तयार रहेको उनले बताए ।
राजदूत स्पार्कले नेपालको आर्थिक विकास तथा व्यावसायिक वातावरण सुधार बेलायत सरकारको प्राथमिकतामा रहेको बताउँदै सोहीअनुरूप सार्वजनिक निजी संवादलाई प्रभावकारी बनाउन, ऊर्जा क्षेत्रको विकास, प्रविधि हस्तान्तरण, बौद्धिक सम्पत्तिको सुरक्षा तथा निजी क्षेत्रको विकासका लागि बेलायती दूतावासले अन्तर्राष्ट्रिय वित्त नियोगसँग मिलेर काम गरिरहेको जानकारी दिए । राजदूत स्पार्कले भने–“समग्र पक्षहरूको मूल्यांकन गर्दा बदलिँदो परिस्थितिमा बाञ्छित दरमा आर्थिक वृद्धि र समावेशी विकास हासिल गर्न नेपालले आफ्नो आर्थिक प्रारूपमा समय सापेक्ष परिमार्जन गर्दै जानु पर्ने देखिन्छ ।”
साथै राजदुत स्पार्कले नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापित भएको २०० वर्ष पुगेको अवसरमा बेलायत सरकारले नेपालमा विशेष ‘मिसन’ र प्राथमिकता प्राप्त कार्यक्रम ल्याउन लागेको जानकारी पनि दिए ।