
काठमाण्डु, ७ पुस– ‘तेर दे जोम फाउण्डेसन लोनाज’ (टिडिएच) नामक संस्थाले खुलेआम ‘यौन व्यवसाय’ सम्बन्धी एसएमएस पठाएर उपत्यकाबासीलाई भ्रममा पार्ने र त्रास फैलाउने काम गरेको छ ।
यौन शोषणमा परेका बालबालिकालाई संरक्षण गर्ने उद्देश्यले सञ्चालन गरिएको बताउादै आएको उक्त संस्थाले एनसेल र नेपाल टेलिकमका तीन लाख सेवाग्राहीलाई यस्तो एसएमएस पठाएको थियो ।
विभिन्न विदेशी नम्बरहरु +४४७०३४३६१०, ४४७४००३४३६५५ बाट आएको उक्त एसएसमएस उपत्यकाबासीमाझ चर्चाको विषय बनेको थियो । प्रहरी प्रशासन कार्यालय र सरोकारवाला निकाय कसैसाग पनि अनुमति नलिइकनै तीन लाखलाई यस्तो एसएमएस पठाइएको थियो ।
‘काठमाण्डु उपत्यका भित्र किशोर किशोरीहरु व्यावसायिक यौन सम्पर्कका लागि उपलब्ध छन् । थप जानकारीका लागि ९८०८९६९९२१, ९८०८९७०१११ मा फोन गर्नुहोला ।’ भन्ने सन्देश शुक्रबारदेखि मोबाइलमा आउन थालेपछि प्रहरीलाई समेत जानकारी भएको थियो ।
एसएसमएसले आमजनतामा नकारात्मक असर पारेको जानकारी पाएपछि संस्थाले तुरुन्तै विज्ञप्ति जारी गरी आम नेपालीको बुझाई गलत भएको दाबी गरेको छ ।
‘हाम्रो जानकारीमा आएअनुसार हामीले पठाएको एसएमएस सन्देशप्रति केही जनसमुदायमा अन्यथा बुझाइ पर्न गएकोमा हामीले तत्काल अर्को एसएमएस पठाइ हाम्रो उद्देश्य र अभियानबारे प्रष्ट पारेका थियौं ।
तथापी केही प्राविधिक कठिनाइका कारण हामीले पठाएको दोश्रो एसएमएस प्राप्त हुनमा केही ढिलाई भएको थियो’ संस्थाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उपत्यकाभित्र बढदै गएको व्यावसायिक बाल यौन शोषण’ अन्त्यका लागि जनचेतना अभिवृद्धि गर्न टिडिएच र यसका गैरसरकारी साझेदार संस्थाहरुले जनचेतना तथा वकालत अभियान सञ्चालन गर्दैछ ।
बालबालिकाको व्यवसायिक यौन शोषण अन्त्य गर्नका लागि सार्वजनिक जनचेतना अभियानले समुदायलाई परिचालन गरी शोषणमा परेका बालबालिकाको अवस्थाका बारे समाधान पहिल्याउने उद्देश्य हो ।’
केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक तारक धिताल यस्तो ढंगले म्यासेज पठाउनु गलत भएको बताउाछन् । ‘म्यासेज हेर्दा कानुनले निषेध गरिएको कार्यलाई अभिप्रेृरित गर्ने अर्थ लाग्ने देखिएको छ’, उनले भने, ठाडै ‘सेक्स अफर’ गरेको देखिन्छ ।’
उनका अनुसार बालबालिकाप्रति अलिकति पनि संवेदनशील नभइ एकोहोरो मोबाइलमा यस्तो म्यासेज पठाउनु गलत हो । सेवा प्रदायक टेलिफोन कम्पनीहरुले पनि यस्ता सन्देशको भाषा हेरेर मात्र अनुमति दिनुपर्छ । समितिले यस विषयमा स्पष्टीकरण माग्ने तयारी गरिरहेको उनले जानकारी दिए ।
काठमाण्डुका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले अनुमति नलिइकनै त्यस्तो म्यासेज पठाइएको जानकारी दिए । ‘मैले हनुमानढोका प्रहरीलाई अनुसन्धान गरी कारवाही गर्न निर्देशन दिइसकेको छु’, उनले भने, ‘यस्तो गलत कार्य गर्नेप्रति कारबाही हुनुपर्छ ।’
कान्तिपुर दैनिकबाट