किन जुधाउँदै छन् वैद्य र विप्लवले कार्यक्रम ?

काठमाण्डु टुडे २०७१ पुष ९ गते २:३६ मा प्रकाशित

काठमाण्डु, ९ पुस–सम्बन्धविच्छेद गरेका मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा–माओवादी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले एकैदिन काठमाण्डुमा राष्ट्रियस्तरका कार्यक्रम आयोजना गरेका छन् । माओत्सेतुङको १२१ औं जन्मजयन्तीको सन्दर्भ पारेर दुवै माओवादीले ११ पुसमा कार्यक्रम राखेका हुन् ।

mohan baidhya-netra bikram chand

नेकपा–माओवादीले केन्द्रीय समितिको पाँचांै विस्तारित बैठकको निर्णयअनुसार १० र ११ पुसमा पार्टीको राष्ट्रिय भेला आयोजना गरिने भएको छ । वैद्य माओवादीसँग सम्बन्धविच्छेद गरेपछि चितवनमा भएको नेकपा माओवादीको केन्द्रीय समिति बैठकले ११ पुसमा खुलामञ्चमा जनसभा गर्ने निर्णय गरेको हो । करिब एक महिनाअघि वैद्य माओवादीसँग सम्बन्धविच्छेद गरेपछि विप्लव माओवादीले आयोजना गरेको यो पहिलो सार्वजनिक कार्यक्रम हो ।

नेकपा–माओवादीका पोलिटब्युरो सदस्य नारायण शर्माले पार्टीमा वैचारिक, राजनीतिक तथा सांगठनिक रुपमा देखा परेका गम्भीर प्रकृतिका समस्या र तिनको समाधानका लागि जनवादको अभ्यासका बीचबाट सही निर्णयमा पुग्न राष्ट्रिय भेला आह्वान गरिएको बताए । भेलाले राजनीतिक कार्यदिशामा स्पष्टतासँगै संघर्र्षका कार्यक्रम तय र विप्लवपक्ष अलग भएपछि खाली रहेको संगठनात्मक ठाउँमा कसलाई राख्ने भन्ने टुंगो पनि लगाउने नेताहरुले बताएका छन् ।

विप्लव माओवादीले भने माओजयन्तीका दिन खुलामञ्चमा कार्यक्रम गरेर शक्तिप्रदर्शन गर्ने तयारी गरेको छ । पार्टीका केन्द्रीय सदस्य झकबहादुर मल्ल सुदीपले जनसभामा कम्तीमा २५ हजार नेता–कार्यकर्ता सहभागी हुने दाबी गरे । पार्टी संयोजक विप्लवले सम्बोधन गर्ने यो जनसभाबाट माओवादी आन्दोलन जीवित रहेको र आफूहरु सशक्त आन्दोलन गर्न तयार रहेको सन्देश दिने सो पार्टीको योजना छ ।

वैद्य माओवादीले तत्कालीन पार्टीसचिव विप्लवले सम्बन्धविच्छेद गरेपछि उत्पन्न राजनीतिक–वैचारिक एवं संगठनात्मक समस्याको हल खोज्न राष्ट«िय भेला आह्वान गरेको हो । भेलाले पार्टी फुटको कारण खोज्ने भएको छ ।
नयाँ पत्रिका दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us