आश्रम गएका २४ नेपाली भारतीय जेलमा !

काठमाण्डु टुडे २०७१ पुष १० गते २:०७ मा प्रकाशित

काठमाण्डु, १० पुस–धामिर्क कार्यका लागि भारतको हरियाणा हिसारको चण्डिगढ रोड, बरबालास्थित सतलोक आश्रम गएका २४ नेपाली त्यहाँको हिसार कारागारमा थुनिएको पीडितका परिवारले बताएका छन् ।

विवादस्पद भारतीय धर्मगुरु रामपालको आश्रममा उनलाई प्रहरीले खोजी गरेका बेला आश्रमबाट भारतीय र नेपाली केही भगत ‘भक्त’लाई प्रहरीले पक्राउ गरेको थियो । धामिर्क उद्धेश्यले आश्रम गएका नेपाली पक्राउ पर्दा पनि रिहाइका लागि सरकारले कुनै पहल नगरेको भन्दै पीडित परिवार र सभासद्ले गुनासो पोखेका छन् । पक्राउ परेको सवा १ महिना भएको छ ।

परिवारले जिल्ला प्रशासनदेखि परराष्ट्र र दूतावासलाई जानकारी गराएका छन् । ‘म हिसार जेलमै गएर भाइलाई भेटेर आएँ’, धनुषाको क्षीरेश्वरनाथ नगरपालिका, सखुवाका निर्गुणकुमार महतोले भने, ‘मंसिर २ गते पक्राउ परेदेखि जताततै गुहार्‍यौं तर अहिलेसम्म कुनै पहल नभएर भाइ जेलमै छन् ।’

१२ कक्षामा अध्ययनरत २० वर्षीय गणेशकुमार कात्तिक १८ गते पहिलोपटक १८ स्थानीयसँग सत्संग र भजनको लागि आश्रम हिँडेका थिए । ‘जेलमा जम्मा १० मिनेट सिसाको बारबाट देखादेख गरेर फोनमा कुरा गर्‍यौं’, निर्गुणले सुनाए, ‘आमा विरामी बिरामी हुनुहुन्छ, टेन्सन नलिन भन्नु, म चाँडै छुट्छु कि भन्छ, तर के मुद्दा छ, कुनै पत्तो छैन ।

पीडित परिवारका अनुसार पक्राउ पर्नेमा सिरहाका ६, धनुषाका ४, सुनसरीका २, रौतहटका २, कञ्चनपुरका २, काठमाण्डुका २ र मोरङ, महोत्तरी, बदिर्या र भक्तपुरबाट १/१ जना छन् । नेपाली दूतावास दिल्लीले थप दुईसहित २४ नेपाली हिसारको ६० दिने न्यायिक हिरासतमा रहेको बताएको छ ।

कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us