क्रिकेटको विकासमा अख्तियारको चासो

काठमाण्डु टुडे २०७१ पुष ११ गते १:३५ मा प्रकाशित

काठमाण्डु, ११ पुस– उपलब्धिका हिसाबले क्रिकेट नेपालका लागि प्रभावकारी सावित हुँदै आएको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली क्रिकेट खेलाडीले हात पार्दै आएको एकपछि अर्को सफलताको कथाले यो संकेत गर्छ । टि–ट्वान्टी विश्वकपजस्तो प्रतिष्ठित प्रतियोगितामा नेपालको सहभागिता सफलताकै कडी थियो ।

can

राष्ट्रका लागि नतिजामुखी खेल भए पनि पछिल्लो समय नेपाली क्रिकेट विवादको भुमरीमा परेको छ । स्रोत सीमित भए पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीसमेत क्यान विवादका कारण सकसमा परेका छन् । क्यानको आथिर्क अनियमितता भएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाएको छ भने क्यानका पदाधिकारीहरुलाई निलम्बन गरी युवा तथा खेलकुद मन्त्रालयले तीन सदस्यीय तदर्थ समिति बनाएपछि विवाद अदालतको शरणमा पुगेको छ ।

विवादले क्रिकेटको प्रदर्शनमा असर गर्ने अवस्था उत्पन्न भएपछि अख्तियार प्रमुख लोकमानसिंह कार्की क्रिकेट विकासको वातावरण बनाउन अघि सरेका छन् । कार्कीले बुधबार आफ्नै कार्यकक्षमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामा, युवा तथा खेलकुद मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मा, सहसचिव चुडामणि पौडेल, क्यानका कार्यबाहक महासचिव उत्तम कर्माचार्य, क्रिकेट कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, सुवास खकुरेललगायतसँग भेट । उनले खेलाडी र पदाधिकारीसँग नेपाली क्रिकेटको अवस्थाका बारेमा जानकारी लिए ।

राखेपका सदस्यसचिव लामाका अनुसार कार्कीले क्रिकेट विकासमा गहिरो चासो व्यक्त गरेका थिए ।

अन्नपूर्णपोस्ट दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us