विमानस्थलका चरा धपाउन पाँच जना शिकारी !

काठमाण्डु टुडे २०७१ पुष १५ गते १:४८ मा प्रकाशित

काठमाण्डु, १५ पुस– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आकाश आसपास ३९ प्रजातिका चरा घुम्छन् । यीमध्ये कालो चिल धेरैपटक विमानसँग ठोक्किएको छ । यस्तै एउटा कालो चिल जेट एयरवेजमा सोमबार ठोक्कियो । गोदावरी र इमाडोलको आकाशमा आइपुग्दा जहाजमा चिल ठोक्किएको थियो ।

airport

विमानस्थलको घाँसेमैदानमा भएका गँड्यौला, भ्यागुतालगायत अन्य किराफट्यांग्रा चराका आहारा हुन् । विमानस्थलमा खटिएका सिकारीका अनुसार मनोहरा र बागमतीमा थुपारिएको फोहोरमा भेटिने किरा खान आउने चरा पनि विमानस्थलको फन्को मारेर जान्छन् ।

विमानस्थल प्रशासनले गत वर्र्ष एकै दिन सय केजीभन्दा बढी गँड्यौला घाँसैमैदानबाट निकालेको थियो ।

चराविज्ञ डा. हेमसागर बरालका अनुसार गँड्यौला र मासुजन्य फोहोर चिलले असाध्यै मन पराउँछ । विमानस्थल वरिपरि भएका सेकुवा घरसमेत चिलका आकर्र्षण हुन् । मान्छेसँग नजिकिन सक्ने कालो चिल नेपालको रैथाने चरा हो ।

विमानस्थल सुरक्षाविज्ञसमेत रहेका अपरेसन विभाग प्रमुख देवचन्द्रलाल कर्णका अनुसार आफैं ठोक्किन आउने चराबाहेक विमानको इन्जिनमा भएको भ्याकुमले नजिकको वस्तु तान्ने क्रममा पनि कहिलेकाहीं चरा ठोक्किन पुग्छन् ।

एक अध्ययनअनुसार उडिरहेको विमानमा एक फिटको दूरीबाट तीन किलोको चिल ठोक्किए १ हजार ८ सय किलोको घन बजारेजस्तो हुन्छ । ‘जति नजिकबाट ठोकिन्छ त्यति धेरै असर पर्छ’, कर्णले भने ।

वरिपरिको जंगल तथा कृषियोग्य जमिनका कारण पनि चरासहित स्याल र कुकुर विमानस्थलभित्र पुग्छन् । पछिल्लो समयमा स्याल र कुकुरको समस्या भने छैन ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टको एक अध्ययनअनुसार विमानस्थल आसपास पाइने ३९ प्रजातिका चरामध्ये पाँच ठूला आकारका, २४ साना र १० मझौला आकारका छन् । विमानका लागि ठूला प्रजातिका चरा सबैभन्दा खतरा हुन्छन् ।

विमानस्थल आसपास र आकाशमा घुमिरहने कालो चिल धपाउँदा पनि भाग्दैन । विमानस्थलमा पाँच वर्र्ष सिकारी टोलीको नेतृत्व गरेका कुमार बिष्टले भने, चिल धपाउँदा पनि भाग्न मान्दैन । सरकारले विमानस्थलका चरा र अन्य जन्तु धपाउन पाँच जना सिकारी खटाएको छ ।

अन्नपूर्णपोस्ट दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us