
काठमाण्डु, १६ पुस– माघ ८ मै संविधान जारी गराउन युवा सभासदले दबाबमुलक आन्दोलन घोषणा गरेका छन् ।
युवा सभासदहरुको भेलाले संविधान जारी नभएसम्म संविधानसभा नछाड्ने घोषणा गरेको हो ।
५० वर्षमुनिका युवा सभासदहरुको बुधबार सिंहदरबारमा भएको भेलाले प्रमुख नेतालाई संविधानसभाभित्रै घेराबन्दी गर्ने निर्णय गरेको हो ।
भेलाको निर्णयअनुसार युवा सभासदले पहिलो चरणमा सबै दलका प्रमुख नेता र सभाध्यक्ष सुवास नेम्वाङलाई भेटेर समयमै संविधान निर्माण गर्ने दबाब दिने छन् ।
यस्तै दोस्रो चरणको आन्दोलनअन्तर्गत उनीहरुले पुस २५ गतेबाट संविधानसभा परिसरमै धर्ना दिनेछन् । उनीहरुले उक्त अवधिमा राजधानीबाहिर नजाने र आवश्यक परे रातिमा संविधानसभा परिसरमै सुत्ने समेत तयारी गरेका छन् ।
अभियानमा काँग्रेसबाट गगन थापा र चन्द्र भण्डारी, एमालेबाट प्रकाश ज्वाला, राजन भट्टराई र गरिमा शाहलगायत छन् ।
अभियानमा सबै दलका युवा सभासदलाई सामेल गराइने भण्डारीले बताए ।