
काठमाण्डु, १५ पुस– कांग्रेसभित्र युवा नेता भनेर चिनिने गगन थापाले संविधान घोषणा गर्न सुवास नेम्वाङ अघि सर्नुपर्ने जिकिर गरेका छन् । आज राजधानीमा भएको एक कार्यक्रममा थापाले संविधान जारी गराउन सभाध्यक्ष नेम्वाङकै सक्रियता आवश्यक भएको बताएका हुन् ।
‘काँग्रेसले सहमतिका लागि गरेको प्रयत्न पर्याप्त छैन,’ आफ्नै पार्टीप्रति असन्तुष्टि जनाउँदै थापाले भने, ‘बेलैमा संविधान जारी गर्न काँग्रेसले जस्तोसुकै त्याग गर्न पछि हट्न हुँदैन ।’
उनले सहमति हुन नसके पनि संविधान जारी गराउन सभाध्यक्षले भूमिका खेल्नुपर्ने भन्दै बहुमतीय प्रक्रियामा जान संकेत गरेका हुन् । थापाले मुखले पनि बहुमतले निर्णय गर्नुपर्छ भनेनन् ।
उनले एक वर्षमा संविधान दिन्छाँै भनेर जनतामा बाँडिएको घोषणापत्र सम्झन नेताहरुलाई आग्रह गरे ।
सोही कार्यक्रममा एमालेका नेता प्रकाश ज्वालाले शीर्ष नेताहरुले विवादित विषयमा सहमति जुटाउन नसकेकाले नै आफूहरुले युवा सभासद् दबाब अयिभान सञ्चालन गरेको उल्लेख गर्दै अझै पनि नेताहरुले सहमतिको नाममा समय खर्च गरेमा सभाध्यक्षले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले भने, ‘सभाध्यक्ष भनेको हाम्रो नेता हो, उहाँले पहल तथा नेतृत्व
लिनुपर्छ, उहाँलाई नियामावलीले प्रशस्तै ठाउँ दिएको छ ।’
काँग्रेसका सभासद् रामहरि खतिवडाले सहमति हुन नसके प्रक्रियाबाट जानाको विकल्प नभएको बताए ।
मधेसी जनअधिकार फोरम नेपालका सभासद् डा वीरेन्द्रप्रसाद महतोले संविधानसभामा सहमति हुन नसके असहमत पक्षले असहमति लेखेर भए पनि संविधान जारी गर्नुपर्नेमा जोड दिँदै देश र जनताको हितका लागि पनि संविधान जारी गर्नैपर्ने भएकाले सभासद्ले आफ्नै नेताका गलत कुराको विरोध गर्न सक्नुपर्ने बताए ।
एमाओवादीका सभासद् गणेशमान पुनले संविधान निर्माण गर्न युवाले दबाब सिर्जना गर्नुपर्ने बताउँदै दलबीच सहमतिको खोजी भने गर्नैपर्नेमा जोड दिए ।
र यो पनि पढ्औ