केपी ओलीको अनुहारमा ज्ञानेन्द्रको झझल्को

काठमाण्डु टुडे २०७१ पुष ८ गते १०:५८ मा प्रकाशित

मर्निङ वाकबाट फर्किँदै थिएँ,  एक परिचितले बाटो छेकेर भने— हैन, केपी ओली त ज्ञानेन्द्रको औतारमा प्रकट हुन थाले नि, थाहा छ ? कसरी ?  मैले सोधेँ । प्रत्युत्तरमा ती मनुवाले भने— कैलाशका शिवजीझैँ गजक्क परेर प्रस्तुत हुन्छन् । राजा ज्ञानेन्द्रझैँ तामसी कुरा गर्छन् । हतारमा थिएँ,  ‘ए हो र’ भनेर म बाटो लागेँ ।
पछि गम खाँदा लाग्यो, ती मनुवाले भनेको सही हो । अचेल केपी नभन्दै ज्ञानेन्द्रजस्तै लाग्छन् । दरबारको रक्तकुण्डबाट राजाका रुपमा प्रकट हुँदा ज्ञानेन्द्रका भुइँमा खुट्टा थिएनन् । तिनलाई लाग्यो होला— अब भने म खसोखास विष्णुको औतार भएँ । म भगवान् सरह, चराचर जगत्का मुनवाहरु मेराअगाडि भुसुना सरह । म माथि सिंहासनमा, जगत्का मनुष्यरुपी जीवातहरु तल धुलामा । अ आदेश दिने उच्च स्थानमा, अरुहरु आदेश पालन गर्ने नीचा स्थानमा । हे, हे, हे, यस्तो पो जिन्दगी !

KHAGENDRA-SANGRAULA
इतिहास साक्षी छ, त्यही मैमत्त अहंकारले ज्ञानेन्द्रको सिंहासनलाई खाइदियो । र, लागे उनी झिटीगुन्टा बोकेर रुँदै नागार्जुन वनबासतिर । इहलोकका मूर्खहरु अहंकारीहरुको दुर्गति देखेर केही सिक्दैनन् । नसिक्नेहरुको रोलमा अहिले केपी शर्मा ओली खडा भएका छन् । प्रधानमन्त्री बन्ने  उखर्माउलो रहर लागेका केपीलाई लाग्दो हो— एकबारको जुनीमा म राजै हुने भएँ । हुन्छु र साला देखाइदिन्छु । अहिले केपीका भुइँमा खुट्टा छैनन् । उनी माघ ८ मा जसरी पनि संविधान जारी गर्ने जिद्दी गर्छन् । कस्तो संविधान ? उनलाई बाल मतलब छैन । खोस्टै होस्, झुर होस्, पत्रु होस्—केपीलाई संविधान भए पुग्यो । त्यसैले उनलाई प्रतिपक्षसँग सहमति गर्नु छैन । उनलाई सरोकारवालाहरुका आकांक्षाहरुको पर्बाह गर्नु छैन । खोस्टो संविधानले जन्माउने प्रतिक्रियाको उनलाई कुनै चिन्ता छैन । उनलाई त केवल संविधान जारी गर्नु छ र आफू विष्णुको औतार धारण गरी सत्ताको गद्दामा गजधम्म विराजमान हुनु छ ।
केपी चर्का महेन्द्रीय राष्ट्रवादी हुन् । उनका नजरमा मधेशीहरु बिदेशी हुन्, मस्र्या हुन्, धोती हुन्, काले हुन् । त्यसैले ती अदेशभक्त हुन् । त्यसैले राष्ट्रवादको प्रश्नमा तिनको कुनै भर छैन । त्यसैले पहाड–तराई छुट्याएर संघीयतामा जानु हुँदैन । गए मधेशीहरुले देश टुक्राउँछन् । यो केपीको अटल विश्वास हो । केपीका दृष्टिमा जनजातिहरु जातिवादी हुन् । तिनलाई पहिचान दिँदा जातिवादले मुन्टो उठाउँछ । सामाजिक सद्भाव खलबलिन्छ । सामाजिक मानचित्रमा रगतको खोलो बग्छ । र, देश धरापमा पर्छ । त्यसैले पहिचान–सहिचान गोली मार्दो । यो केपीको चर्को अडान हो । उसो त केपी समावेशी राज्यको पक्षमा पनि छैनन् । उनलाई भूगोलको उही महेन्द्रीय रेखाङ्कन प्यारो छ । उनलाई उही महेन्द्रीय विधि–व्यवस्था राम्रो लाग्छ । उनलाई मधेशीमाथि पहाडीको रजगज, जनजातिमाथि तागाधारीको हैकम र दतिलमाथि बिष्टबराजुको मनपरी मनपर्छ । केपीको संघीयताको चित्र यही हो । केपीको संघीयताको चरित्र यही हो । उनलाई माघ ८ मा जसरी पनि यस्तै संवधिान जारी गर्नु छ ।
महाराज ज्ञानेन्द्रको पनि योजनाको यस्तै प्याकेज थियो । पिता महेन्द्रले जे गरे आफूले त्यसै गर्दा पिताजीको झैँ आफ्नो पनि शान, मान र गौरव रहला भन्ने उनलाई लागेको थियो । र नै उनले हर कुरामा महेन्द्रका पाइला पछ्याएर । समय फेरिएको थियो । जनताको मनस्थिति अर्कै थियो । त्यसैले ज्ञानेन्द्रका पत्रु योजनाहरु हावा भए । र, उनको सिंहासन तासको महलझैँ ढल्यो र उनी धूलामा मुन्टो जोत्न पुगे ।
क्षुद्र अहंकारले अन्धो हुँदा यथार्थबोध गर्न छाडिन्छ । आफ्ना कर्मका नतिजाहरुको पूर्वानुमान गर्ने लेठो गरिँदैन । अरुका नजरमा आफू कस्तो देखिँदो हुँ भन्ने कुराबारे सोचविचार गरिँदैन । र नै इहलोकका मूर्ख मनुवाहरुलाई ज्ञानेन्द्रको जस्तो दुर्दशा हात लाग्छ । अहंकारको पर्वत बोकेर हिँडिरहेका केपी यही पथमा छन् । हेर्नु छ अब के के हुने हो ।

kp oli
संविधासभामा  केपी मण्डलीको अंकबल राम्रो छ । त्यही बलको तुजुकमा केपीगण झुर संविधान बनाउन लिट्टी कसेर लागिपरेका छ । ल भैगो, संविधान बन्ला । तर त्यो संविधान लागु गर्ने त आखिर जनतामाझ नै होला । मधेशीलाई अदेशभक्त मान्ने संविधानलाई मधेशीले पूजा गर्लान् कि च्यात्लान् ? पहिचान माग्ने जनजातिका निधारमा जातिवादीको छाप ठोक्ने संविधानलाई जनजातिले म्वाइ खालान् कि जलाउलान् ? अनि महिलाले ? अनि मुस्लिमले ? अनि दलितले ? अनि सीमान्त जनहरुले ? अनि मुक्तिकामी सकल उत्पीडित समूहहरुले ? यी सब कुराको केपी ओलीलाई न हेक्का छ न पर्वाह छ । आफ्नो कुशासनको परिणामबारे ज्ञानेन्द्र बेखबर थिए । जब उनलाई खबर भयो त्यो बेला उनको सिंहासन हल्लिइसकेको थियो । केपीका हकमा पनि हुने यस्तै होला । जब केपीगणद्वारा लिखित जाली तमसुक टाइपको संविधान सर्वत्र जल्छ त्यो बेला राजातुल्य केपीका आँखा झल्याँस्स खुल्नेछन् । सिंहासनबाट खसेर ज्ञानेन्द्र त वनबास गएका थिए, ज्ञानेन्द्र पथका पथिक केपीचाहिँ कहाँ जालान् ?

र यो पनि पढ्यौं – सत्ता हतारोको धरापमा संविधान

 

संविधानसभामा भुइँफुट्टापछि भुइँफुट्टा

 

ओली भन्छन्, ‘म सिपाही हुँ, राजा त प्रचण्ड बन्न खोजे’ 

उपचारका नाममा देश दोहन

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us